देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बोक्सा–बोक्सीको आरोपमा देवर–भाउजुलाई कुटपिट गर्दै खुवाइयो मलमूत्र

देशान्तर

महोत्तरी – महोत्तरीमा बोक्सा–बोक्सीको आरोपमा देवर–भाउजुलाई कुटपिट गर्दै मलमुत्र खुवाइएको छ ।

महोत्तरीको औरही नगरपालिका–९ अवलेशरामा ५० वर्षीय पुरुष र उनकी ५५ वर्षीया भाउजुलाई बिहीबार साँझ बोक्सा–बोक्सीको आरोपमा कुटपिट गरी मलमूत्र खुवाइएको प्रहरीले जानकारी दिएको छ । स्थानीयका अनुसार साँझ सवा ६ बजे केही महिला भेला भएर दुवै जनालाई कुटपिट गरी मलमूत्र खुवाएका हुन् ।

घटना लगत्तै इलाका प्रहरी कार्यालय रामगोपालपुरबाट खटिएको प्रहरी टोलीले उद्धार गरी दुवै जनालाई स्थानीयस्तरमा उपचारका लागि भर्ना गराएको छ । पीडित पुरुषका बायाँ आँखा र खुट्टामा चोट लागेको छ । घटनामा संलग्नमध्ये एक जनालाई पक्राउ गरिएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले नेपालखबरलाई जानकारी दिए । उनले पीडितले दिएको जाहेरीका आधारमा घटनामा संलग्नहरूलाई पक्राउ गरी कारबाही गरिने बताए ।

पीडित र पक्राउ परेकालाई आज जिल्ला प्रहरी कर्यालय (महोत्तरी) ल्याउन लागिएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी प्रकाश विष्टले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए । यसअघि दसैंमा पनि बोक्सीकै आरोपमा एक महिलाको हत्या नै गरिएको थियो भने अर्कीलाई मलमूत्र कोच्याइएको थियो ।