विराटनगर – रक्षामन्त्री डा मीनेन्द्रप्रसाद रिजालले सेवाप्रदायत कार्यालयले सेवाग्राहीको काममा विशेष ध्यान दिन निर्देशन दिएका छन् ।
जिल्ला प्रशासन कार्यालय मोरङको सभाहलमा आज बिहान राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिने क्रममा उनले स्थानीय तहबाट समाधान हुने समस्या प्रमुख जिल्ला अधिकारीलाई र केन्द्रबाट समाधान हुने समस्या लिखितरूपमा पठाउन पनि निर्देशन दिए ।
उनले निर्देशनभन्दा पनि राष्ट्रसेवक कर्मचारी जनताका काममा जुट्नुपर्ने आग्रह गरेका छन् । सो अवसरमा प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले मोरङको शान्ति, सुरक्षाको अवस्था सामान्य रहे पनि चाडपर्वलाई ध्यानमा राखेर विशेष सुरक्षा व्यवस्था मिलाएको र यसका लागि एक हजार ६०० प्रहरी परिचालन गरिएको जानकारी दिए ।
उनले खुला सीमाका कारण हजारौँ नागरिक नेपाल–भारत ओहोरदोहोर गर्ने गरेको जानकारी दिँदै कामका लागि भारत गएका नेपाली नागरिक नेपाल प्रवेश गर्ने क्रममा ऐन्टिजेन परीक्षण गरी सोहीअनुसारको व्यवस्था मिलाइएको बताए ।
प्रमुख जिल्ला अधिकारी दाहालले जिल्लामा आपूर्तिको समस्या नरहेको र नेपालभन्दा भारतमा प्रतिकिलो चिनीको मूल्यमा रु ३० कम रहेकाले धेरै नागरिक सीमावर्ती बजार जाने गरेको जानकारी दिँदै मोरङको भारततर्फ ६३ किमी सीमा क्षेत्रमा आपराधिक गतिविधिलाई नियन्त्रण गर्न, लागुऔषध कारोबारलाई निस्तेज पार्न र मानव बेचबिखन कार्यतर्फ पनि विशेष ध्यान पु¥याइएको जानकारी दिए ।





प्रतिक्रिया