देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बैतडीमा मदिरा बेचबिखनमा प्रतिबन्ध

देशान्तर

बैतडी – देहीमाडौँ र पाटनमा मदिरा बेचबिखन तथा ओसारपोसारमा पूर्ण रुपमा रोक लगाइएको छ । बडादसैँको महाष्टमी र महानवमीका दिन लाग्ने जात्रा तथा मेलालाई मध्यनजर गर्दै मदिरा बेचबिखन र ओसारपोसार बन्द गरिएको हो ।

देहीमाडौँमा रहेको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा महाअष्टमी र पाटनस्थित प्रसिद्ध उदयदेव मन्दिरमा महानवमीका दिन पशु बलिसहित जात्रा लाग्ने गर्दछ । निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने मेलालाई व्यवस्थित बनाउन देहिमाडौँ बजार क्षेत्रमा घटस्थापनादेखि नै मदिरा बेचबिखन र ओसारपोसारमा रोक लगाइएको छ ।

वडाध्यक्ष रनबहादुर बोहराका अनुसार मदिरा बेचबिखन तथा सेवन गरेको पाइएमा जरिवाना गरिनेछ । कसैले मदिरा सेवन गरेको पाइएमा रु दुई हजार, बेचबिखन र ओसारपोसार गरेमा रु छ हजार जरिवानासहित मदिरासमेत जफत गरिने वडा कार्यालयले जनाएको छ । यसका साथै जुवा खेले वा खेलाएमा रु तीन हजार जरिवाना गरिने बताइएको छ ।

उदयदेव मन्दिरमा लाग्ने मेलालाई व्यवस्थित बनाउन पनि मदिरा बेचबिखन र सेवनमा प्रतिबन्ध लगाइएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।

महाअष्टमी र महानवमीका दिन पूर्णरुपमा रोक र आइतबारदेखि पाटन बजारमा अपराह्न ३ः०० देखि ६ः०० बजेसम्म मात्रै मदिरा बिक्रिवितरण गर्न पाइने जनाइएको छ ।