काठमाण्डौँ – कार्तिक शुक्ल द्वितीय तिथिका दिन आज भाइटीका लगाइदैछ । यो पर्व दिदीले भाइलाई र बहिनीले दाजुलाई तथा भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मानसम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा–मिष्ठान आदि मनपर्ने कुरा ख्वाउने, दिदी बहिनीहरूलाई दान–दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ ।
यसवर्षको तिहारको भाइटीका बिहान ११ बजेर २ मिनेटमा टीकाको शुभसाइत रहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले बताएका छन् ।
परापूर्वकालमा बहिनी यमुनाले यसैदिन दाजु यमराजलाई विशेष मान सम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्व छ । यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ । यी पाँच दिन इन्द्रादि दश दिक्पालले बलि राजाका लागि आफ्नो राज्य छाड्ने कथा पनि पाइन्छ ।
भाइ तिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदी बहिनी र दाजुभाइको सुख–समृद्धि, अरोग्य एवं दीर्घायुको कामना गर्ने गरिन्छ ।
विधि
भाइटीकालाई लामो समयसम्म भेटघाट नभएका दाजुभाइसँग भेटघाट हुने, सम्बन्धमा आएको चिसोपन हटाई मिलन गराउने तथा सम्बन्धलाई अझ दिगो बनाउने माध्यमका रूपमा लिइन्छ । यमपञ्चकको पाँचौं दिन भाइटीका पर्छ ।
दिदीबहिनी भाइटीकाको अघिल्लै दिन दाजुभाइलाई भाइटीकाको निम्ता स्वरूप पान–सुपारी आदि दिइन्छ । भाइटीकाका दिन टीका नलगाई केही खान हुँदैन । टीकाको दिन बिहानै नुहाएर अष्टचिरञ्जीवीको पूजा गर्नुपर्छ । यमराज, हनुमान्, विभीषण, परशुराम अष्ट चिरञ्जीवी भित्र पर्छन् । भाइटीका गर्न ओखर, तोरीको तेल, बिमिरा, मसला, मखमली, दूबो तथा सयपत्रीको माला, रोटी, मीठा–मीठा परिकारको आवश्यकता पर्छ ।
सबैभन्दा पहिले दियो, कलश तथा गणेशको पूजा गरी बिमिराको पूजा गर्नुपर्छ । त्यसपछि दाजुभाइको मंगलको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेक्नुपर्छ । पानी तथा तेलले ७ घेरा हाली दाजुभाइलाई छेक्नुपर्छ । फूल, अक्षता, चन्दन तथा लाभाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाइदिनुपर्छ । सगुनका रूपमा दही दिनुपर्छ ।
भाइटीकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्वछ । मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रंग कहिल्यै उडेर जाँदैन भने दूबो सधै हरियै रहन्छ । दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायुको कामना गर्दै निधारमा सप्तरङ्गी टीका लगाइदिन्छन् ।
दाजुभाइप्रतिको प्रेम रंगजस्तै गाढा तथा निरोगी भैरहने विश्वास गरिन्छ । दिदीबहिनीले दाजुभाइलाई ढाकाको टोपी लगाइदिन्छन् । यसले आयु बढाउनुका साथै राष्ट्रियता झल्काउँछ ।





प्रतिक्रिया