
काठमाडौं–तराईबासीको ठूलो पर्व छठको अवसरमा बुधबार साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिइ मनाइएको छ ।
छठ कात्तिक शुक्ल चतुर्थी देखि सप्तमीसम्म मनाइने पर्वको आज मुख्य दिन हो । काठमाडौं उपत्यकाका विभिन्न जलाशयमा छठ पर्व मनाइएको छ ।
छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिइयो भने भोलि उदाउँदो सूर्यलाई अघ्र्य दिइ छठ पर्व सम्पन्न गरिन्छ । यो दिन सूर्यको पूजा आराधना गरी अघ्र्य दिएमा चर्म रोग लाग्दैन भन्ने धार्मिक मान्यता रही आएको छ ।
काठमाडौंको गौरीघाट, थापाथलीलगायतका स्थानमा बनाइएको छठ घाटमा भेला भएका ब्रतालुले अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अघ्र्य दिएर छठ पर्वको मुख्य दिनको विधि पूरा गरेका हुन् ।
कोरोना महामारीका कारण गत वर्ष काठमाडौंका जलासयमा यसरी छठ घाट बनाएर छठ पूजा गरिएको थिएन । धेरैले घरमै सामान्य पोखरी र जलासय बनाएर पूजा गरेका थिए । यस वर्ष भने गुह्येश्वरी गौरीघाट क्षेत्रमा हजारौँ भक्तजनको छठ पूजा गर्न भेला भएका थिए । त्यसैगरी कमलपोखरी क्षेत्रमा पनि हजारौं भक्तजनहरूको भिड लागको छ ।
त्यस्तै काठमाडौंको थापाथलीमा पनि छठ पूजा गर्नेको संख्या धेरै थियो । छठ पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले गुह्येश्वरीस्थित वाग्मती किनारमा निर्माण गरिएको छठी माताको प्रतिमामा पूजा आराधना गरेकी छन् । छठी माताको प्रतिमामा पूजा आराधना गरी उनले गुह्येश्वरी गौरीघाट क्षेत्रको छठ पर्वको उद्घाटन गरिन् ।





प्रतिक्रिया