देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

उदाउँदो सूर्यलाई अर्घ दिएपछि सकियो छठ पर्व

देशान्तर

वीरगञ्ज । उदाउँदै गरेको सूर्यलाई बिहीबार बिहान अर्घ दिएपछि चारदिने महाअनुष्ठानको पर्व छठ सकिएको छ ।

बुधबार अस्ताउँदै गरेको सूयलाई अर्घ दिएका व्रतालुहरूले बिहान उदाउँदै गरेका सूर्यलाई अर्घ दिएका हुन् । योसँगै सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईवासीको महान चाडको उल्लास सकिएको छ ।

प्रकृतिको पूजा गर्ने पर्वको रुपमा परिचित छठका लागि झिलिमिलि पारिएका नदी, खोला र पोखरीस्थित छठघाटमा व्रतालुहरु बिहान उज्यालो नहुँदै पुग्छन् । घरका पुरुष सदस्यले दौरा (पूजा सामग्री तथा प्रसादले भरिएको टोकरी) बोकेर छठघाटसम्म लगिदिन्छन् ।

दोस्रो दिन बेलुका एकछाक अलिनो रसिआव रोटी खाएपछि व्रतालुहरु निराहार व्रत बसेका हुन्छन् । पुरुष सदस्यले दौरा बोकेर व्रतालु महिलाप्रति सम्मान र माया प्रकट गर्ने गरेको भोजपुरी प्रतिष्ठानका अध्यक्ष एवं सँस्कृतिविद प्राज्ञ उमाशंकर द्विवेदी बताउँछन् ।

सँस्कृतिविद द्विवेदीका अनुसार अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएका व्रतालुले घर गएर भाकल अनुसार कोशी भर्ने गर्छन । व्रत परिवारका एक दुई जना सदस्य मात्रै बस्ने गरेपनि कोशी भर्ने कार्यमा परिवारका सबै सदस्य सहभागी हुन्छन् । ‘सबैजना घाटमा जान सकेका हुँदैनन, तर कोशी भरिसकेपछि परिवारका सबै सदस्य ढोग्ने प्रचलन छ,’ द्विवेदीले भने ।

बिहान छटघाट पुगेपछि शिरशोप्तामा पुजा गर्छन । उदाउँदो सूर्यलाई अर्घ दिएर पूजापाठ गरेपछि छठ पर्व विधिवत रुपमा समापन हुन्छ । छठको चौथो तथा अन्तिम दिनलाई भोजपुरी भाषामा ‘बिहनइया’ अथवा ‘भोरे घाट’ भनिन्छ ।