काठमाडौं । नेपाल बार एशोसिएसनले आज प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिने योजना बनाएको छ । शान्तिपूर्ण आन्दोलनमा बिहीबार बल प्रयोग गरेको विरोधमा एशोसिएसनले प्रधानन्यायाधीश जबरालाई प्रवेश निषेध गर्ने आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।
नेपाल बार एशोसिएसनकी उपाध्यक्ष रक्षा बस्यालले आज सर्वोच्च अदालतको मूलगेटमा धर्ना बस्ने र प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालतमा छिर्न नदिने बताइन् । तर सर्वोच्च अदालतले थप सुरक्षा बल मगाई कडाइ गरेकाले कानून व्यवसायीहरुलाई धर्नास्थल नै जान नदिने रणनीति बनाएको छ । प्रहरीले बारबाट सर्वोच्च अदालत प्रवेश गर्ने भित्री ढोकामा नै अवरोध गरेमा कानून व्यवसायीहरु सडकबाटै सर्वोच्च अदालतको मुलगेटमा गएर धर्ना दिने योजना बनाएका छन् ।
प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरुले सर्वोच्च अदालत परिसरभित्रै प्रदर्शन गर्दै आएका छन् । बिहीबारको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा ६ जना कानुन व्यवसायीहरु घाइते भएका छन् ।





प्रतिक्रिया