देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जुम्लाको गुठीचौर गाउँपालिकाले सौर्य ऊर्जाबाट बिजुली निकाल्दै

देशान्तर

खलङ्गा – जुम्लाको गुठीचौर गाउँपालिकाले सौर्य ऊर्जाबाट बिजुली निकाल्ने भएको छ । वडा नं २ स्थित मुरुली गाउँमा सौर्य ऊर्जाबाट बिजुली निकाल्न थालिएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीले बताए । उनले भने, “वडाभित्र रहेका झण्डै दुई सय घरधुरीलाई बिजुलीको पहुँचमा ल्याउनका लागि सौर्य ऊर्जाबाट बिजुली बाल्न लागिएको हो ।

विगतदेखि नै यो वडा अन्धकार थियो । हुनेखानेले सोलार प्यानल जडान गरेर बिजुली बालिरहेका थिए । विपन्न घरपरिवारले सल्लाको दियालोको भरमा उज्यालो पारेका छन् । अन्धकारमा बस्न बाध्य यहाँका स्थानीयवासीर्ले निकट भविष्यमै सौर्य ऊर्जाको बत्ती पाउने भएका छन् । योसँगै सल्लाको दियालो बालेर उज्यालो गर्ने युगको अन्त्य हुने छ ।

कुनै पनि घर बिजुलीविहीन हुने छैनन्, सबै घरधुरीमा बिजुली पुर्याउन स्थानीय सरकार लागिपरेको छ । गाउँगाउँमा सडक, घरघरमा बिजुली, एक घर एक धाराको अवधारणा साकार पार्न लागिएको अध्यक्ष भण्डारीले बताए ।

सौर्य ऊर्जाका लागि तीन करोड ५६ लाख विनियोजन गरिएको र यसबाट ५० वाटको बिजुली बत्ती बालिने छ । गाउँपालिकाका कुनै पनि बस्ती बिजुलीविहीन नहुने प्रमुख प्रशासकीय अधिकृत देवकोटाले बताए । वर्षौंदेखिको बिजुली बाल्ने सपना पूरा हुने भएको छ । बिजुली नहुँदा विद्यार्थी र ज्येष्ठ नागरिकलाई सास्ती हुने गरेको थियो ।