देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रहरी अस्पतालको अनियमितता जुँगाको लडाईं मात्रः समितिले प्रतिवेदन बुझायो

देशान्तर

 

 

 

 

 

काठमाडौं–नेपाल प्रहरी अस्पतालमा भएको भनिएको अनियमितताका सन्दर्भमा छानबिन गर्न बनेको समितिले प्रतिवेदन बुझाएको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल नेतृत्वको छानबिन समितिले सोमबार प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षत्रीलाई प्रतिवेदन बुझाए प्रहरीले जनाएको छ ।
छानबिनबाट प्रहरी अस्पतालमा अनियमितता नदेखिएको तर अस्पतालमा ‘को सिनियर’ भन्ने आन्तरिक झगडामात्रै देखिएको निष्कर्ष निकालिएको छ ।
आईजीपी क्षत्रीलाई प्रतिवेदन बुझाउँदै छानविन समितिले भविष्यमा ‘जुँगाको लडाईं’ नहुनेगरी सतर्कता अपनाउन सुझाव दिएको छ ।
अस्पताल प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. आशा सिंहले अनियमित तरिकाले अस्पतालमा स्वास्थ्य सामग्री खरिद गरेको उजुरी परेपछि अख्तियारले छानविनका लागि प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो ।
आयोगको निर्देशनपछि आईजीपी थापाले छानविन समिति गठन गरेका हुन् । अख्तियार, गृह मन्त्रालय र आईजीपी सचिवालयमा अस्पतालका दोस्रो वरियतामा रहेका प्रहरी नायव महानिरीक्षक (डिआईजी) डा. मिनराज पाठकविरुद्ध पनि उजुरी परेको थियो ।
प्रहरी अस्पतालका प्रमुख डा. सिंह र डीआईजी डा. मिनराज पाठकको बीचमा सिनियर र जुनियर विवाद छ ।

२०७६ पुसमा डा. सिंहलाई अस्पतालको प्रमुखमा नियुक्त गरिएको थियो । आफूभन्दा जुनियरलाई अस्पताल प्रमुख बनाएकोमा पाठक असन्तुष्ट थिए । पाठन उनीभन्दा वरीयतामा अगाडि थिए । अहिले डा. सिंह र डा. पाठकको छुट्टाछुट्टै समूह छ ।

पुरानो मेसिन मर्मत नगरेर कमिसनको लोभमा नयाँ किनेको आरोपबारे यसअघि नै अर्को समिति बनेको र सो समितिले प्रतिवेदन पेश नगरेको हुनाले त्यसबारे एआईजी पोखरेलेको समितिले केही बोलेको छैन ।

अस्पतालमा भएको अनियमितताबारे राष्ट्रिय सतर्कता केन्द्रले पनि छानविन गरेको थियो । गृह मन्त्रालय र अख्तियारले छानविनका लागि लेखेर पठाएपछि आईजीपी क्षेत्री दवावमा परेका थिए । छानविन समितिले भविष्यमा यस्तो गुनासो नआउने गरी सतर्कता अपनाउन प्रहरी प्रधान कार्यालयलाई सुझाव दिएको छ ।

समितिमा आईजीपीको सचिवालयमा कार्यरत डीआईजी बसन्त लामा, एसएसपी भीम ढकाल,एसएसपी पूजा सिंह र डीएसपी ज्ञानेन्द्र बस्नेत सदस्य थिए ।