चितवन – एक महिनाअघि परेको अविरल वर्षाका कारण जिल्लामा दुई हजार ५९१ दशमलब १८ हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली पूर्णरूपमा क्षति भएको छ । पूर्वी चितवन र माडीमा बढी क्षति भएको कृषि ज्ञानकेन्द्र भरतपुरले जनाएको छ ।
कार्यालयका अनुसार खैरहनीमा ७२८।०६ हेक्टर, रत्ननगरमा ७०१।३३ हेक्टर, भरतपुर महानगरमा ४१६।६६ हेक्टर, राप्तीमा ३०६।५० हेक्टरमा लगाइएको धानबालीमा क्षति पुगेको छ । यस्तै माडीमा २५० हेक्टर, कालिकामा १४८।६३ हेक्टर र इच्छाकामना गाउँपालिकामा ४० हेक्टरमा लगाइएको धानबालीमा क्षति पुगेको छ । चितवनमा २७ हजार २८१ हेक्टरमा धानखेती हुँदै आएको छ ।
गत असोज २९ देखि लगातार चार दिनको झरिले पाकेको धान खेतमै डुबानमा परेको थियो । कार्यालयका योजना अधिकृत उमराज अर्यालका अनुसार सबैभन्दा धेरै खैरहनी नगरपालिकामा धानबालीमा असर परेको हो । उनले समग्र धानबालीमा ९।४९ प्रतिशत नोक्सान भएको बताए । उन्नत र हाइब्रिडजातका धानबालीमा असर पुगेको छ । उनले भने, “ नौ हजार ७० मेट्रिक टन धान खानै अयोग्य हुने गरी नष्ट भएको छ ।” विगतका वर्षमा जिल्लामा एक लाख ५ हजार ८४१ मेट्रिक टन धान उत्पादन हुने गरेको थियो । सो वर्षाले अधिकांश धानबालीमा असर परेको छ । आंशिक ढलेको, भिजेको र डुबेको विवरणको एकिन तथ्याङ्क नभएको बताए ।
उहाँले भन्नुभयो, “सातवटै स्थानीय तहबाट पूर्ण क्षतिको विवरण लिएर राहतका लागि प्रदेशको मन्त्रालयमा पठाइसकेका छौँ ।” प्रति क्विन्टल रु दुई हजार ८०० का दरले अनुमान गर्दा करिब रु २५ करोड ४० लाख मूल्य बराबरको नोक्सान भएको योजना अधिकृत अर्यालले जानकारी दिए ।





प्रतिक्रिया