
कठमाडौं-रोल्पामा बिहीबार बेलुकी भएको बस दुर्घटनामा परी चार जनाको घटनास्थलमै मृत्यु भएको छ ।
घोराहीबाट रोल्पाको थवाङतर्फ जाँदै गरेको ना ३ ख ५५१८ नम्बरको बस बेलुका साढे ६ बजे दुर्घटना हुँदा झन्डै एक सय मिटर तल माडी खोलामा खसेको हो ।
घटनास्थलमै तीन जना पुरूष र एक महिला गरी चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । प्रहरीका अनुसार मृतकको सनाखत मृत्यु हुेनेको सनाखत भएको छैन ।
थप ६ जना घाइतेलाई उद्धार गरी सुनिल स्मृति अस्पताल घर्ती गाउँमा पुर्याएको जनाइएको छ ।
शहीद मार्ग अन्तर्गत माडी गाउँपालिका वडा नम्बर २ जलजलास्थित माडी खोलामा बस खसेको थियो ।
दुर्घटनास्थलभन्दा तीन किलो मिटर अगाडि रहेको प्रहरी चेक पोष्टका अनुसार बसमा १० जना यात्रु सवार रहेका थिए ।
त्यो बीचमा अरू कोही यात्रु थपिएको वा झरेको भन्ने यकिन भइनसकेको प्रहरीले जनाएको छ ।
घटनास्थल अँध्यारो भएको हुँदा अरू यात्रु पनि घाइते छन् कि भनेर खोजी कार्य जारी रहेको पनि प्रहरीले जानकारी दिएको छ ।





प्रतिक्रिया