काठमाडौँ — अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावले विगत तीनदिनदेखि बिग्रिएको नेपालको मौसममा शनिबारदेखि क्रमिकरुपमा सुधार आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यद्यपि उक्त मौसमी प्रणालीको आंशिक प्रभाव कायमै रहेकाले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एकरदुई स्थानमा हल्का वर्षा हुनका साथै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
राजधानी काठमाडौंसहित देशका अधिकांश स्थानमा लगातारको बदली हटेको छ । काठमाडौं उपत्यकामा बिहानैदेखि पारिलो घाम लागेकाले विगतका दिनभन्दा केही न्यानो महसुस गरिएको छ । शनिबार काठमाडौंको अधिकतम तापक्रम तापक्रम १९ दशमलव ५ र न्यूनतम तापक्रम ७ दशमलव ८ डिग्री सेल्सियस रहेको छ । यही मंसिर २ गतेदेखि देशका अधिकांश स्थानमा बदली र उच्च हिमाली भेगमा हल्का हिमपात भएको थियो ।
महाशाखाका अनुसार अहिले देशका सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका भू–भागमा सामान्य बदली रही बाँकी प्रदेशका भू(भाग आंशिकदेखि सामान्य बदली रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
रातिको समयमा पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका भू–भागमा सामान्य बदली रही बाँकी प्रदेशका भू–भाग आंशिकदेखि सामान्य बदली रहनेछ । गण्डकी र कर्णाली प्रदेशका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।





प्रतिक्रिया