देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

निगमका पाइलटले ड्युटी सकियो भन्दै रुकुम उडेको जहाज नेपालगञ्जमै अवतरण

देशान्तर

नेपालगञ्ज – नेपाल एयरलाइन्सको एक पाइलटले आफ्नो ड्यूटीको समय सकिएको भन्दै रुकुम अवतरण गर्नुपर्ने जहाज नेपालगञ्ज अवतरण गरिदिएका छन् ।

पाइलटको सनकका कारण रुकुम उडेका यात्रुलाई नेपालगञ्ज झारेर बिचल्ली पारिएको छ । यो घटना सोमबारको हो । सोमबार नेपाल एयरलाइन्सको ट्वीन अटर विमानलाई तीन बजे रुकुम उडान गर्न काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका एयर ट्राफिक कन्ट्रोलर (एटीसी)ले स्वीकृत दिइसकेका थिए ।

त्यसअघि जहाजमा रुकुम जाने सबै यात्रु बसिसकेका थिए । जहाजको ककपिटमा पाइलट पेम्बा शेर्पा बसेपछि एयरहोस्टेजले भनिन्, ‘हामी गन्तव्यतर्फ उड्दैछौं । कृपया सुरक्षाका लागि सबैले बेल्ट बाँधिदिनुहोला ।’ जहाज तोकिएको समयमै काठमाडौं एयरपोर्टबाट रुकुमका लागि उड्यो । जहाज रुकुम त उड्यो तर गन्तव्यमा भने पु¥याइएन ।

पाइलट शेर्पाले जहाजलाई नेपालगञ्ज विमानस्थलमा अवतरण गराए । लाग्न सक्छ, विशेष कारणवस जहाजलाई नेपालगञ्ज अवतरण गरिएको हो । तर, वास्तविकता भने त्यस्तो होइन । पाइलट शेर्पाको ड्युटी आवर सकिएका कारण जहाजलाई नेपालगञ्ज अवतरण गरिएको रहेछ ।

पाइलट शेर्पाले आफ्नो ड्यूटी ४ बजे सकिने र करिब त्यही समयमा जहाज नेपालगञ्ज विमानस्थल माथि पुगेकाले आफ्नो ड्यूटी सकिएको भन्दै नेपालगञ्जमै अवतरण गरिदिएका हुन् । निगम स्रोतले भन्यो, ‘पाइलटको ड्यूटी सकिएको भन्दै रुकुम जाने जहाजलाई नेपालगञ्जमै अवतरण गरिदिए । उनको सनकका कारण रुकुम उडेका यात्रुले सास्ती भयो । यात्रुलाई होेटेलमा राख्नुपर्दा निगमलाई आर्थिक नोक्सानी ।’