देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सेनाद्वारा ‘होल्डिङ सेन्टर’ निर्माण तीव्र

देशान्तर

काठमाडौँ – कोभिड–१९ सङ्क्रमण जोखिम रोकथाम तथा न्यूनीकरण गर्ने उद्देश्यले मुलुकका विभिन्न आठ स्थानमा अघि बढाइएको ‘होल्डिङ सेन्टर’ निर्माण तीव्र रुपमा अघि बढिरहेको छ ।

नेपाली सेनाको व्यवस्थानमा अघि बढिरहेको उक्त निर्माण कार्यको हालसम्म पछिल्लो प्रगति ६० प्रतिशतभन्दा माथि रहेको जानकारी दिइएको छ । मन्त्रालयको चालु आर्थिक वर्ष २०७८÷७९ को पहिलो त्रैमासिक समीक्षामा प्रधानसेनापति प्रभुराम शर्माले निर्माणाधीन सात ‘होल्डिङ सेन्टर’ निर्माणको काम ६० प्रतिशत भन्दामाथि पुगेको जानकारी दिए ।

उनले भने , “पछिसम्मका लागि काम लागोस् भन्ने हेतुले बनाइएका एकतले भवन पूरा गर्ने काम भइरहेको छ, नयाँ निर्माणलाई पनि सँगसँगै लगिएको छ, विनियोजित रकम भने हालसम्म ५० प्रतिशत मात्र उपलब्ध भएको छ ।”

सरकारले नेपाल–भारत सीमा नाका कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफन्टा, झापाको काँकड्भिट्टा, मोरङको रानी, कपिलवस्तुको कृष्णनगर, पर्साको वीरगञ्ज, नेपालगञ्जको बाँके र रुपन्देहीको बेलहियामा कम्तीमा एक हजार क्षमताको होल्डिङ सेन्टर बढाउने निर्णय गरेको थियो । रुपन्देहीको बेलहियामा भने हालसम्म जग्गा प्राप्ति नभएको कारण काम अघि बढन नसकेको रक्षा मन्त्रालयले जनाएको छ ।

उक्त परियोजना रु दुई अर्बको लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिको छ । स्थानीय तहबाट आवश्यक सहयोग नभएको तथा अर्थ र गृह मन्त्रालयबीच समन्वय र सहमति नहुँदा रुपन्देहीमा जग्गा प्राप्त गर्ने कार्य नै प्रभावित भएको बताइएको छ ।

परियोजनाका लागि हालसम्म ५० प्रतिशत मात्र रकम उपलब्ध भए पनि एक तल्लाका भवन एकपछि अर्को गर्दै लगातार बनाइएकाले अत्यावश्यक परेको खण्डमा अहिले नै प्रत्येकमा २०० जनालाई राख्न सक्ने अवस्थामा बनिसकेको छ ।

सेनाको अनुरोधमा ठेकेदारले कामलाई निरन्तर रुपमा अघि बढाइरहेकाले अब छिट्टै निर्माण सम्पन्न हुने जानकारी दिइएको छ ।