देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अपडेट : बैतडी जीप दुर्घटनामा मृतकको संख्या पाँच पुग्यो

देशान्तर

बैतडी । बैतडीमा सोमबार साँझ भएको जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । पाटन नगरपालिका–१ सकारकी ४० वर्षीया जानकी भट्टराईको उपचारका क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएपछि मृतकको संख्या पाँच पुगेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।

पाटन बजारबाट पाटन नगरपालिका–७ कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जीप पाटन नगरपालिका–१ सकार खोलामा दुर्घटनामा परेको हो । दुर्घटनामा परेर सूर्नया गाउँपालिका–४ का २४ वर्षीय प्रेम चुनारा र उनकी श्रीमती २० वर्षीया मनीषा विक, पाटन नगरपालिका–१ सकारका १३ वर्षीय विनोद भट्टराई र सोही ठाउँकी ७२ वर्षीया रमा भट्टराईको घटनास्थलमै मृत्यु भएको हो ।

मनीषा र प्रेम १० दिनअघि मात्रै विवाह भएको थियो । उनीहरू घरबाट माइतीघर पाटन–७ कैलपाल फर्कंदै गरेका प्रहरीले जनाएको छ । दुर्घटनामा परेर घाइते भएका पाँच जना मध्ये दुई जनालाई डडेल्धुरा रेफर गरिएको छ । पाटन नगरपालिका–१ सकारका मानध्वज भट्टराई र ओमप्रकाश भट्टराईलाई डडेल्धुरा रेफर गरिएको प्रहरी निरीक्षक शाहीले बताए ।

सकारकै विष्णु भट्टराई, दीपक भट्टराई र गोविन्द विकको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचार भइरहेको छ । जीप चालक बैतडीको पाटन नगरपालिका–५ अड्तोलाका खेमराज पाण्डे भने फरार रहेका छन् । कच्ची बाटोमा जीप चिप्लिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।