काठमाण्डौँ । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर र सूर्यविनायक नगरपालिका–३ बालकोटको सिमाना हनुमन्ते खोला किनारामा एक पुरुषको हत्या भएको छ । सूर्यविनायक नगरपालिका–३ बालकोट बस्ने ३३ वर्षीय राजन श्रेष्ठको कुटपिट र धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
गएराति करिब पौने १० बजे गठ्ठाघरमा आफ्नो गाडी पार्किङ गरी घर जाने क्रममा हनुमन्ते फलामे पुल काटेलगत्तै कुटपिट गरी श्रेष्ठको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको महानगरीय प्रहरी बृत्त थिमिका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए ।
घटना विवरणअनुसार घर फर्कने क्रममा कुटपिट गरिरहेको स्थानीय मजदुरले देखेपछि प्रहरीलाई खबर गरी प्रहरीकै सहयोगमा श्रेष्ठलाई राति १० बजे उद्धार गरी उपचारका लागि मध्यपुर अस्पताल लैजाँदा अस्पतालले मृत्यु भएको जानकारी गराएको उनले जनाए । प्रनाउ रेग्मीसहितको अनुसन्धान टोली राति १० बजे घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको बताइएको छ ।
महानगरीय प्रहरी परिसरका प्रहरी निरीक्षक एवं सूचना अधिकारी लोकबहादुर जिसिले घटना राति करिब १० बजे भएको र मृतकको मुखमा गहिरो चोट रहेको बताए ।
प्रहरीले रातभरि कुटपिट गर्ने व्यक्तिको खोजी गरिरहेको छ । शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने क्रम जारी रहेको र छिट्टै अपराधीको पहिचान हुने प्रहरीले दाबी गरेको छ । मृतक श्रेष्ठको मुख र निधारमा गहिरो चोट रहेको र कुटपिटबाट तथा हतियार प्रयोग गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।





प्रतिक्रिया