देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राम–सीता विवाह सम्पन्न, आज रामकलेवा हुँदै

देशान्तर

जनकपुरधाम । त्रेता युगमा जस्तै बुधवार राति जनकपुरस्थित जानकी मन्दिरमा वैदिक परम्परा अनुसार भगवान राम र सीताबीच प्रतिकात्मक विवाह सम्पन्न भयो । आज रामकलेवा विधि पश्चात साताव्यापी विवाह पञ्चमी समापन हुनेछ ।

मिथिलानी महिलाहरूले परम्पराअनुसार हाँसोठट्टा र गीतका माध्यमले जन्तीलाई गाली गर्दा सहभागी श्रद्धालुलाई साँच्चै त्रेतायूगको अनुभूती गरायो । विवाह समारोहमा लाखौं श्रद्धालु सहभागी थिए । सीता–राम विवाहको खुशियालीमा महन्तहरु र कतिपय श्रद्धालु रुपैयाँ समेत लुटाए ।

साधुसन्तको अगुवाइमा झाँकी कीर्तनसहित राम मन्दिरबाट रामको डोला र जानकी मन्दिरबाट जानकीको डोला निस्केर बुधवार दिउँसो बाह्रविघा रंगभूमि मैदान पुगेर स्वयंम्वर गरिएको थियो । ढोल पिपही, सहनाई, व्यान्ड बाजा र पञ्चेबाजासहित छुटा–छुट्टै निस्केको दुवै डोली बाह्रविघा मैदानमा मिलन भएपछि वैदिक परम्परा अनुसार मालाफेर गरी राम र जानकीको स्वयंम्वर गरिएको थियो ।

आज सामुहिक भोजका लागि जानकी मन्दिरमा ३६ व्यञ्जनको भोजन पाक्दैछ । जन्तीको रुपमा भगवान रामको जन्मभूमि भारतको अयोध्या र अन्य स्थानबाट आएका साधुसन्तलाई भोज खुवाउने र दक्षिणासहितको बिदाइ गर्नुलाई रामकलेवा भनिन्छ । रामकलेवाको क्रममा भारतबाट आएका साधुहन्तलाई जनकपुरकी महिलाहरुले गीतका माध्यमले गाली गर्नुका साथै मनोरञ्जन गराइन्छ ।