देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको गणना सुरु, संख्या बढ्ने अनुमान

देशान्तर

रुपन्देही –आजदेखि बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको गणना सुरु भएको छ । करिब तीन महिनाभित्र बाघको संख्या यकिन हुने बताइएको छ । निकुञ्जले बाघ गणनाका लागि अघिल्लो सोमबार र मंगलबार प्राविधिकलाई प्रशिक्षण दिएको थियो ।

हरेक चार वर्षमा बाघ गणना हुन्छ । पछिल्लो गणनामा ८७ वटा बाघ भेटिएकामा यसवर्ष बाघको संख्या बढ्ने र १ सय १५ देखि १ सय २५ को संख्यासम्म पुग्ने अनुमान निकुञ्जको छ । बाघ गणना बाँके र बर्दियामा एकैसाथ गर्न लागिएको हो । गणनाका लागि यी दुई जिल्लामा चारवटा बल्क बनाइएको छ ।

बाघ गणनामा ७ सय वटा ग्रिडमा ७ सय २० वटा क्यामेरा राखिने भएको छ । एउटा ग्रिडमा कम्तीमा १५ देखि २१ दिनसम्म क्यामेरा ट्र्याप राखिनेछ । एक दर्जन हात्ती, प्राविधिक, कर्मचारीसहित झन्डै तीन सय जना बाघ गणनामा खटिने भएका छन् ।

बाघको संख्या बढ्दै गएपछि यहाँ वन्यजन्तु र मानव द्वन्द्व चर्किंदै गएको छ । विगत तीन वर्षयता बाघको आक्रमणमा ज्यान गुमाउनेको संख्या पनि बढ्दै गएको छ । निकुञ्जभित्र र मध्यवर्ती क्षेत्रमा बाघले आक्रमण गर्दा गत आर्थिक वर्षमा १२ जनाले ज्यान गुमाएका छन् ।

चालु आर्थिक वर्षमा तीन जनाको बाघको आक्रमणमा परी मृत्यु भइसकेको छ । अधिकांश घटना मध्यवर्ती क्षेत्र र खाता जैविक मार्गमा हुँदै आएको छ ।