देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रकृति र वातावरणको संरक्षण अपरिहार्य : राष्ट्रपति भण्डारी

देशान्तर

काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत समुदायको महान् पर्व उधौलीका उपलक्ष्यमा शुभकामना सन्देश जारी गरेकी छन् ।

राष्ट्रपतिको सन्देशमा किराँत समुदायका मूलतः राई, लिम्बु, सुनुवार र याख्खाहरूको महान् चाड उधौली पर्व हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट सुरु भई १५ दिनसम्म विभिन्न कार्यक्रमसहित मनाउने पर्वको महत्व र गरिमाबारे उल्लेख गरिएको छ ।

हिउँद सुरु भएपछि जाडो छल्न मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट उँधो अर्थात् बेसीतिर बसाइँ सर्ने समयमा मनाइने उधौली पर्वका अवसरमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाई पितृपूजा गरिनुका साथै राम्रो फसलका लागि भूमिप्रति आभार व्यक्त गर्दै अन्नको सह बसोस् भन्ने कामनासहित भूमिको पूजा गर्ने गरिन्छ ।

‘ऋतु परिवर्तनको प्राकृतिक चक्र सँगसँगै आफ्नो जीवन चर्यालाई एकाकार बनाउन अभ्यस्त प्रकृति र पितृपूजक किराँत समुदायको यो चाडले हाम्रो मौलिक सांस्कृतिक परम्परालाई समृद्ध तुल्याएको छ, यस उधौली पर्वले मानव जीवन र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्दै मानव जातिको अस्तित्वको निरन्तरताका लागि प्रकृति र वातावरणको संरक्षण अपरिहार्य रहेको सन्देशसमेत दिएको छ भन्ने मलाई लागेको छ,’ सन्देशमा भनिएको छ ।