काठमाडौं – काठमाडौं उपत्यकामा मागको एक तिहाई मात्र पानी आपूर्ति हुने गरेको छ। उपत्यकामा दैनिक करिब ४३ करोड लिटर पानीको माग भए पनि काठमाडौं उपत्यका खानेपानी लिमिटेडले त्यसको एक तिहाईभन्दा कम अर्थात् करिब १३ करोड लिटर मात्र उत्पादन एव्म वितरण गर्छ।
पुस, माघ र फागुनमा दैनिक १३ करोड लिटर पानी दिन सकिए पनि चैत र वैशाखमा भने दैनिक ११ करोड लिटर पानी मात्र वितरण हुने गरेको लिमिटेडले जनाएको छ। वर्षायाममा भने करिब १६ करोड लिटर पानी वितरण हुने गरेको छ।
सुक्खा मौसम लागेसँगै काठमाडौं उपत्यकामा खानेपानीको अभाव हुन्छ। पुसपछि उपत्यकाका स्रोतको पानी कम हुँदै जान थालेपछि खानेपानीको समस्या हुने गरेको छ।
धारामा पानी नआएपछि उपत्यकावासी वैकल्पिक व्यवस्था गर्न बाध्य हुन्छन्। लिमिटेडले उपत्यकामा दुई लाख ३७ हजार धारा जडान गरेको प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिए। चोरीका धारा पनि बेला बेलामा भेटिने गरेको उनको भनाइ छ।
काठमाडौं उपत्यकामा सुन्दरीजल, महादेवखोला, नक्खु मुहान, शेषनारायण, हिटीटोल, सातमूल, कुटुरी, देवकी वासुकी, बल्खुखोला, मूलडोल, चारघरे, विष्णुमती, पाँचमाने, छहरे, अल्ले, महादेवखोलालगायत स्थानबाट पानी संकलन गरेर प्रशोधन गरी वितरण हुने गरेको छ। यी स्रोतमध्ये सबैभन्दा बढी बागमती नदीको पानी सुन्दरीजलमा संकलन गरी वितरण हुन्छ।
प्राकृतिक स्रोतबाट संकलन गरेको पानीले नपुग्ने भएपछि केही स्थानमा भूमिगत पानी निकालेर पनि वितरण हुने गरेको छ। हाल उपत्यकामा करिब ८० स्थानमा लिमिटेडले भूमिगत पानी निकालेर प्रशोधन गरी वितरण गर्छ। यसै वर्ष करिब एक करोड लिटर पानी भूमिगत स्रोतबाट थप गर्ने तयारीमा लिमिटेड लागेको प्रवक्ता राईले बताए।
उपत्यकामा बर्सेनि करिब १० प्रतिशत पानीको माग थपिने गरेको एक अध्ययनले देखाएको छ। बढ्दो जनसङ्ख्या, घररभवनलगायत भौतिक संरचनाको निर्माणमा वृद्धि र प्राकृतिक स्रोत सुक्न थालेपछि पिउने पानीको अभाव हुन थालेको बताइएको छ।





प्रतिक्रिया