देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मोटरसाइकलको पछाडि बस्नेले हेल्मेट लगाउनु पर्ने नियम आउँदै

देशान्तर

मोटरसाइकलको पछाडि बस्ने यात्रीले पनि हेल्मेट लगाउनु पर्ने कानून आउन लागेको छ ।
यात्राको क्रममा दुर्घटना हुँदा टाउकामा चोट लाग्ने सम्भावना बढी भएका कारण पछाडि बसेर यात्रा गर्दासमेत हेल्मेट लगाउनु पर्ने भएको भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
सरकारले यस्तो व्यवस्था ल्याउन लागेपछि व्यापारिक स्वार्थ अनुकुलको व्यवस्था गर्न लागेको भन्दै कतिपय पक्षले संस्था तथा व्यक्तिले आलोचनासमेत गरिरहेका छन् । तर, आम नागरिक वा यात्रुलाई सुरक्षित बनाउने नीति ल्याउँदा त्यसलाई कमिशन वा व्यापारिक स्वार्थको खेल भएको आरोप लगाउनु गल्ती हुने पनि मन्त्रालयले जनाएको छ ।

उक्त ऐनमा सरकारले चारपाङ्ग्रे सवारी साधानको चालक र अघिल्ला सिटमा बस्ने यात्रुले समेत सिटबेल्ट बाँध्नु पर्ने, यात्रुवाहक सवारी साधानमा अपारदर्शी सिसा प्रयोग गर्न नपाइने जस्ता व्यवस्था समेत गर्न लागिएको छ ।

आर्थिक सर्वेक्षण २०७७/७८ लाई आधार मान्ने हो भने नेपालमा दर्ता भएको दुई पाङ्ग्रे सवारी साधनको संख्या ३१ लाख ६२ हजार छ । यस आधारमा हाल दुई पाङ्ग्रे करिब ३२ लाख पुगेको अनुमान गर्न सकिन्छ ।

दुई पाङ्ग्रे सवारीको पछाडि बसेर यात्रा गर्नेले पनि हेल्मेट लगाउनु पर्ने कानुन लागु भए थप ३२ लाख हेल्मेट आवश्यक हुने देखिन्छ । हेल्मेट व्यवसायीका अनुसार हाल बजारमा १ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म पर्ने हेल्मेट उपलब्ध छन् । तर, ज्यादा बिक्री हुने हेल्मेटमा ३ हजारदेखि ६ हजार रुपैयाँसम्मका छन् । औषतमा एउटा हेल्मेटको ४ हजार ५ सय रुपैयाँ मान्ने हो भने पनि ३२ लाख नयाँ हेल्मेट किन्न १४ अर्ब ४० करोड रुपैयाँ खर्चिनु पर्ने देखिन्छ ।