काठमाडौँ – प्रतिकूल मौसमका कारण नेपालको हवाई सेवा प्रभावित भएको छ।
खराब मौसमका कारण मंगलबार काठमाडौंबाट हुने अधिकांश उडान प्रभावित भएको विमानस्थलले जानकारी दिएको छ।
मौसम खराबीले ‘भिजिबिलिटी’ कम हुँदा मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका अधिकांश उडान प्रभावित भएका हुन्।
कतिपय विमानस्थलहरू ढिलागरि खुलेपछि उडान डिले भएका छन्। अझै कतिपय विमानस्थल खुलेका छैनन्। मौसमको खराबीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहान केहीबेर रोकिएको थियो। अहिले पनि विमानस्थल आइएसआर लागू भएकाले विमानहरू निर्धारित समयमा उडान भर्न पाइरहेका छैनन्।
‘अहिले विमानस्थलमा आइएसआर लागू भएकाले विमानहरू एकतर्फीमात्र ल्याण्डिङ भइरहेका छन्। बिहान एकछिन रनवे मर्मतका लागि भन्दै विमानस्थल बन्द गरिएको थियो। मौसमको कारणलेलै अहिले हरेक उडान २ घन्टाभन्दा ढिला भइरहेको छ’, यति एयरका प्रवक्ता सुदर्शन बर्तौलाले भने
‘उडान रद्द भएको छैन। तर सबै उडान डिले छन्’, उनले भने,‘मौसमको कारणले समयमै उडान र अवतरण गराउन सकिएको छैन।’
राजधानी काठमाडौंमा रहेको नेपालको एकमात्र ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल’ मा जहाज उडान–अवतरण डिले हुँदै आएको छ। विभिन्न कारणहरुले उडान डिले हुँदा त्यसको प्रत्यक्ष मार भने विभिन्न गन्तव्यमा पुग्नुपर्ने यात्रु र ती यात्रुलाई गन्तव्य पुर्यायाउने जिम्मा लिएका वायुसेवा कम्पनीलाई पर्छ।
गन्तव्य पुग्न समयमै विमानस्थल आइपुगे पनि तालिकाअनुसार जहाज नउड्दा यात्रुहरू घन्टौंसम्म कुर्नुपरेको गुनासो गर्न थालेका छन्। यसो हेर्दा यसमा वायुसेवा कम्पनीहरूको दोष जस्तो देखिए पनि उनीहरूको भने आफ्नै पीडा छ । राष्ट्रिय एवं अन्तर्राष्ट्रिय उडान गरिरहेका वायुसेवा कम्पनी आफैं समेत तोकिएको समयमा उडान–अवतरण गर्न नपाएको दुःखेसो पोखिरहेका छन् ।
प्रायःजसो जाडो मौसममा उडान निकै ढिला हुन्छन् । मंसिरदेखि फागुनको दोस्रो सातासम्म कुहिरो र हुस्सुले भिजिविलिटीमा निकै समस्या आउँछ । कतिबेला कुन विमानस्थल खुल्ने हो टुंगो नै हुँदैन । पछिल्ला वर्षहरुको तथ्यांक केलाउने हो भने तराईका अधिकांश विमानस्थलहरु जाडो याममा हुस्सु कुहिरोले निकै बाधा पुगेको देखिन्छ ।
बिहान केहीबेर मात्रै मानौं ५ मिनेट ढिला भयो भने त्यसपछिका सबै उडानहरुमा त्यत्तिकै डिले समय थपिदै जान्छ र त्यही अनुरुप क्रमशः अरु अरु उडानहरु पनि ढिला हुँदै जान्छन् ।
त्यसमाथि त्रिभुवन विमानस्थलमा आन्तरिक उडान–अवतरण सञ्चालन हुन अन्य सम्बद्ध गन्तव्यमात्र नभई वैकल्पिक विमानस्थलको मौसम पनि सफा र खुलेको हुनुपर्छ। त्यसो भएको खण्डमा मात्र काठमाडौंबाट जहाज उड्न सक्छन् भने अन्य गन्तव्यबाट पनि यहाँ जहाज आउन सक्छन्। उदाहरणको लागि काठमाडौंबाट विराटनगर उडानको लागि दुवै ठाउँको साथै अन्य वैकल्पिक एयरपोर्ट पनि खुलेको हुनुपर्छ ।





प्रतिक्रिया