देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विमानस्थलबाट स्रोत नखुलेको ५० लाख नगद बरामद, सौर्य एयरका स्टेशन म्यानेजरसहित दुई पक्राउ

देशान्तर

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको ५० लाख रूपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

शनिबार दिउँसो पौने २ बजे विमानस्थलबाट ५० लाख रूपैयाँ बरामद भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ। सौर्य एयरलाइन्सको उडान नम्बर एसएयू ७२४ मा स्रोत नखुलेको रकम रहेको भन्ने सूचना प्रहरीले पाएको थियो।

सो सूचनापछि सादा पोसाकमा खटिएको प्रहरीले रातो रंगको भद्रपुर लेखिएको झोला चेक गरेको थियो। त्यसभित्र प्लास्टिकले बेरिएको करेन्ट चाउचाउ लेखिएको कार्टुन भित्र स्रोत नखुलेको रकम बरामद भएको प्रहरीले जनाएको छ।

एक हजारका दरले ४९५० वटा र पाँच सयका दरले १०० वटा गरी ५० लाख रुपैयाँ बरामद गरेको हो। सो रकम लिन आएको आरोपमा एयरलाइन्सको काठमाडौंमा एसिस्टेन्टसमेत रहेकी रेशा शाक्यलाई प्रहरीले पक्राउ गरेको छ।

‘विराटनगरमा चेक नगरी विमानमा हाल्यो। अवैध सामान छ भन्ने सूचना मलाई आएपछि यहाँ गएर चेक गर्दा ५० लाख भेटियो,’ प्रहरी वरिष्ठ उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले सेतोपाटीसँग भने, ‘उताकै स्टेशन म्यानेजरले हालेर पठाएको र यता कर्मचारीलाई रिसिभ गर्न लगाउँदा पक्राउ परिन्।’

बरामद भएको नगद र उनीमाथि थप अनुसन्धान गर्न प्रहरीले राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरमा पठाएको छ।

थप अनुसन्धानको लागि सौर्य एयर विराटनगरका स्टेशन म्यानेजर प्रकाश पौड्याललाई पनि नियन्त्रणमा लिएर काठमाडौं ल्याउँदै गरेको प्रहरी वरिष्ठ उपरीक्षक मैनालीले जानकारी दिए।

यस सम्बन्धमा विभागले थप अनुसन्धान अघि बढाएको छ।