देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

हिमपातका कारण फसेका मजदुरहरूको उद्धार

देशान्तर

काठमाडौ—हिमपातका कारण फसेका मजदुरहरूको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । पुथाउत्तरगंगा गाउँपालिका–२ पेल्माका १४ मजदुर घोडेटो बाटो बनाउनका लागि गाउँ भन्दा दुई दिन माथिको क्षेत्रमा गएका थिए ।

काम गर्ने क्रममा हिउँ परेपछि घर फर्कन नपाएका उनीहरुलाई हेलिकोप्टर मार्फत उद्धार गरी ल्याइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिए ।

‘केही दिन बस्ने गरेरै काम गर्न गएकाहरु हिउँ परेपछि कार्यक्षेत्रमा अल्झेको पाइयो,’ प्रजिअ बाँस्कोटाले भने, ‘हिउँ पग्लने सम्भावना नभएपछि नेपाली सेनाको हेलि मार्फत उद्धार गरियो ।’

घोडा पालन गर्ने र खच्चड उत्पादन गरेर बिक्री गर्ने उद्देश्यका साथ घोडा पालन गर्ने ठाउँसम्मको बाटो निर्माणका लागि उनीहरु त्यसतर्फ गएका थिए । खाने कुरा सकिदै गएको र हिउँ पनि पग्लने अवस्था नभएपछि उद्धार गरिएको प्रजिअ बाँस्कोटाले बताए । उनीहरुलाई सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरेको थियो ।

उद्धार गरिएका सबै मजदुरको अवस्था सामान्य रहेको प्रजिअ बाँस्कोटाले जानकारी दिए । गत मंगलबार रातिबाट बुधबार रातिसम्म हिमपात भएको थियो । हिमपात भएको लामो समयसम्म काममा गएकाहरु नफर्किएपछि घरपरिवार र गाउँलेले उद्धारका लागि आग्रह गरेका थिए ।

आइतबार हिउँमा फसेको जानकारी आएको थियो, सोमबार नै उनीहरुको उद्धार भएको छ प्रजिअ बाँस्कोटाले भने । उद्धार भएकाहरुमा पेल्माका जोकप्रसाद बुढा, औंसी बुढा, विशाल बुढा, दयालाख कामी र रमजित कामी, जानी बुढा, कृष्ण बुढा, दिपक कामी, सुनिल झाँक्री, जुनदेवी झाँक्री, पेमबहादुर कामी, बहादुर बुढा, नविन बुढा र नान्तेन पुन हुन् ।