देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सुन तस्करी प्रकरणमा मुछिएका गोरेको भाइ २ लाख धरौटीमा छुटे

देशान्तर


काठमाडौं- सुन तस्करी प्रकरणमा मुछिएका गोरेका भाई २ लाख धरौटीमा छुटेका छन् ।
साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका आरोपी रमेश उप्रेतीलाई जिल्ला अदालत मोरङले दुई लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो ।

बिहीबार थुनछेक बहसपछि न्यायाधीश भरत लम्सालको इजलासले उप्रेतीलाई दुई लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । उनी सुन तस्करी प्रकरणका मुख्य आरोपी चुणमणि उप्रेती गोरेका भाइ हुन् ।

मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका उप्रेती अदालतको आदेशपछि बिहीबार धरौटी बुझाएर छुटेको जिल्ला अदालत मोरङका श्रेस्तेदार टिकेन्द्रवीरजंग राणाले देशान्तरलाई बताए ।

यसअघि युएईमा रहेका उप्रेती सुन तस्करी प्रकरणका अभियुक्तहरुले सफाइ पाउने र धरौटीमा छुट्ने भएपछि मंगलबार नेपाल आएका थिए । उनलाई प्रहरीले मंगलबार त्रिभुवन विमानस्थलबाट पक्राउ गरी बुधबार जिल्ला अदालत मोरङमा हाजिर गराएको थियो ।

२०७४ साल फागुन १९ गते मोरङ उर्लाबारीका सनम शाक्यको हत्या अनुसन्धान गर्ने क्रममा साढे ३३ किलो सुन तस्करीको विषय बाहिर आएको थियो । अनुसन्धानपछि १९ वैशाख २०७५ मा ७७ जना विरुद्ध ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ मुद्दा जिल्ला अदालतमा दर्ता भएको थियो ।

७७ जना प्रतिवादीमध्ये पक्राउ परेका गोरेसहित ५६ जना प्रतिवादीले सुन तस्करी मुद्दामा सफाइ पाए । शाक्य हत्या प्रकरणमा भने गोरेसहित ८ जनालाई अदालतले दोषी ठहर गरेको थियो ।