काठमाडौं – हाल न्यून चापीय प्रणालीको प्रभाव कायमै रहेकाले अझैं तीनदिन वर्षा र हिमपातको संभावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाअनुसार शुक्रबार, शनिबार र आइतबारसम्म देशभर आंशिकदेखि सामान्य बदलीसँगै हिमपातको संभावना छ।
शुक्रबार देशभरी आंशिकदेखि सामान्य बदली भइरहेको छ। आज प्रदेश १ र प्रदेश २ का एक दुई स्थानमा हल्का वर्षा र हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यस्तै बिहानको समयमा देशका पश्चिमी, मध्य र पूर्वी तराई भू-भागका केही स्थानहरूमा हुस्सुरकुहिरो लागेको थियो। सो हुस्सुरकुहिरो पश्चिमी र मध्य तराईका भू-भागमा मध्यान्हसम्ममा तथा पूर्वी तराईका भू-भागमा अपरान्हसम्ममा हटेर जाने सम्भावना रहेको छ।
आज देशभर आंशिकदेखि सामान्य बदली रही सबै प्रदेशहरुका थोरै स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यस्तै आज राती प्रदेश १ र प्रदेश २ मा सामान्य बदली तथा बाँकी प्रदेशहरुमा आंशिक देखी सामान्य बदली रहनेछ । प्रदेश १ , प्रदेश नं २, बाग्मती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।





प्रतिक्रिया