
नेपाल अर्बुद रोग निवारण संस्थाको ३१ औं केन्द्रीय सभाबाट महेश श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन् । सिरहाको लाहानमा भएको अधिवेशनले श्रेष्ठको नेतृत्वमा केन्द्रीय कार्यसमिति चयन गरेको हो । केन्द्रीय समितिले अध्यक्षबाहेकका पदाधिकारी भने पछि चयन गर्ने छ ।
कार्यसमितिमा तीन जना उपाध्यक्ष, महासचिव, उप महासचिव, कोषाध्यक्ष, उप कोषाध्यक्ष चयन गर्ने जनाइएको छ । साधारण सभाले धनकुटाका कमल श्रेष्ठ, भोजपुरका कृष्णबहादुर बस्नेत, सिन्धुलीका कुमार उपाध्याय, सर्लाहीका डोर प्रसाद भट्टराई, कास्कीका दिनेश शंकर पालिखे, सुर्खेतका नारायण कोइराला, मकवानपुरका प्रकाश खतिवडा, दाङका डा. प्रकाशराज न्यौपाने, भक्तपुरमा विजेश अवाले, काठमाडौंका विमल कुमार होडा, सिन्धुपाल्चोककी रति श्रेष्ठ, झापाकी राधा कार्की, काभ्रेका हर्ष नारायण कर्माचार्यलाई निर्वाचित गरेको छ ।
केन्द्रीय साधारण सभाको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्घाटन गरेका थिए । सो अवसरमा मुख्यमन्त्री राउतले क्यान्सर पीडितलाई प्रदेश सरकारले मासिक भत्ता उपलब्ध गराउने तयारी गरेको बताएका छन् ।
उनले प्रदेश सरकारले क्यान्सर पीडितको उपचारार्थ कानुन बनाएरै मासिक भत्ता उपलब्ध गराउने तयारी भइरहेको जानकारी पनि दिए । उनले भने ‘क्यान्सर पीडितले पहिलादेखि नै उपचारका लागि एक लाख राहत पाउँदै आएका छन् अब प्रदेश सरकारले कानून बनाएरै मासिक भत्ता दिन लागेको छ ।’
यस्तै, लहानमा स्थापना हुन लागेको क्यान्सर अस्पताललाई प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।





प्रतिक्रिया