देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काठमाडौंका मुख्य चोकहरुलाई फराकिलो बनाउन आन्तरिक छलफल

देशान्तर

काठमाडौं – सरकारले काठमाडौंका मुख्य शहरी चोकहरुलाई विस्तार गरी फराकिलो बनाउने विषयमा छलफल थालेको छ । शहरी विकास मन्त्रालयले काठमाडौंका मुख्य शहरी चोकहरुलाई विस्तार गरी फराकिलो बनाउने विषयमा आन्तरिक छलफल थालेको हो ।

काठमाडौंको बानेश्वर चोकलाई प्राथमिकताका राखिएको छ । महत्वपूर्ण चोकहरु धेरै साँघुरो भएको र भूकम्प जस्ता महाविपत्ति आउँदा जम्मा हुने ठाउँ समेत नभएकाले आसपासका जग्गा अधिग्रहण गर्ने छलफल शुरु भएको मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद शर्माले जानकारी दिए । ‘धेरै आवदी र आवतजावत रहने क्षेत्रका चोकहरुलाई थप फराकिलो बनाएर विपदको सयममा प्रयोगमा ल्याउनसक्ने बनाउन छलफल भएको हो,’ उनी भन्छन् ।

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नै वानेश्वरचोकलाई फराकिलो बनाउने गरी तयारी थाल्न कर्मचारीहरुलाई भनेकी छन् । आसपासमा रहेका घरधनीहरुलाई मुआब्जा दिएर खाली गराउने निर्णय गरी सैद्धान्तिक सहमतिका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने मन्त्री झाँक्रीको तयारी रहेको मन्त्रालय स्रोत बताउँछ ।

‘यो विषयमा चाँडै औपचारिक निर्णय भएर मन्त्रिपरिषदमा प्रस्ताव जान्छ, मन्त्रिपरिषद्ले सहमति दिएपछि मन्त्रालयले काम अघि बढाउँछ,’ मन्त्रालय स्रोतले भन्यो, ‘काम शुरु गर्न समस्या छैन, मन्त्रीज्यूले नै यस विषयमा अग्रसरता देखाउनु भएकाले चाँडै हुन्छ ।’

मुआब्जाका लागि ततकाल मन्त्रालयसँग बजेट उपलब्ध भने छैन । अहिले सरकारले निर्णय गरेमा पनि काम शुरु गर्दैगर्दा केही महिना लाग्ने र आगामी आर्थिक वर्षको बजेटबाट मुआब्जाको व्यवस्था हुने मन्त्रालयका ती अधिकारी बताउँछन् । उनका अनुसार बानेश्वरचोकबाट पूर्वतिर ९कोटेश्वर० जाने बाटोमा र माइतीघर जाने बाटोमा गरी कम्तीमा सय मिटरभित्र पर्ने दायाँबायाँका घरहरु भत्काएर खाली गराउने प्रारम्भिक योजना छ ।

साथै मिनभवनको ट्रली बस र नापी विभाग अगाडि रहेको बीच भागको खाली जमीनलाई पनि चौउर बनाएर भूकम्प जस्ता विपद् आइलाग्दा सर्वसाधारणहरुलाई सुरक्षित बस्न मिल्ने गरी बनाउने मन्त्रालयको योजना छ ।