काठमाडौं – भक्तपुरमा ट्याटु खोपाउने लाइन बसेका एक युवकको मृत्यु भएको छ।
मध्यपुर थिमी नगरपालिका-१ लोकन्थलीस्थित ‘इन्क’ ट्याटुमा लाइन बस्दा बेहोस भएका ३३ वर्षीय बिराज खड्काको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता ९डिएसपी० राजु पाण्डेले थाहाखबरलाई जानकारी दिए।
बुधबार राति साढे १० बजेतिर ट्याटु खोप्ने पालोमा बसेका खड्का बेहोस भएर ढलेका थिए। उनी बेहोस भएपछि आफन्तलाई खबर गरिएको थियो।
आफन्त र ‘इन्क ट्याटु’का सञ्चालक आरुष मल्लले उनलाई सिनामंगल स्थित केएमसी अस्पतालमा लगेको प्रवक्ता पाण्डेले बताए।
अस्पतालमा उपचारको क्रममा उनको बिहीबार बिहान मृत्यु भएको हो। घटनाबारे अनुसन्धान भइरहेको डिएसपी पाण्डेले बताए।
मृतकको स्थायी घर मध्यपुरथिमी नगरपालिका-१ लोकन्थली भएपनि उनी काठमाडौंको कोटेश्वरमा बस्ने गरेको पाण्डेल बताए।
शव पोस्टमार्टमका लागि अस्पताल लगिएको प्रवक्ता पाण्डेले बताए।





प्रतिक्रिया