देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नुवाकोटको चर्चित गोरु जुधाइ मेला स्थगित

देशान्तर

काठमाडौ – ओमिक्रोन भेरियन्टका कारण नुवाकोटको चर्चित गोरु जुधाइ मेला स्थगित भएको छ । बढ्दो कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै यो वर्षको गोरु जुधाई मेला स्थगित गरिएको हो ।

बिहीबार तारकेश्वरस्थित माघे संक्रान्ति गोरु जुधाई संरक्षण संस्थाका अध्यक्ष सूर्यमान श्रेष्ठले सूचना जारी गरी बढ्दो ओमिक्रोन भेरियन्टको खतरालाई मध्यनजर गर्दै जिल्ला कोभिड–१० व्यवस्थापनको निर्णयअनुसार प्रत्येक वर्ष माघ १ गते सञ्चालन हुने ऐतिहासिक पर्व गोरु जुधाई कार्यक्रम स्थगित गरिएको जानकारी दिएका छन् ।

अध्यक्ष श्रेष्ठले गोरु जुधाई कार्यक्रम स्थगित हुँदा पर्न गएको क्षतिप्रति सम्पूर्ण कृषक तथा दर्शकहरुसँग क्षमा समेत मागेका छन् । धादिङसँग सीमा जोडिएको नुवाकोटको तारकेश्वरमा (तारुका) प्रत्येक वर्ष माघे संक्रान्तिका दिन भव्य रुपमा गोरु जुधाई मेला लाग्ने चलन छ ।

वि. सं. १८४९ मा तिब्बती सेना र नेपाली सेनाबीच वेत्रावतीमा सन्धि भएपछि खुसियालीमा गोरु जुधाएर रमाइलो गर्ने चलन थालनी भएको थियो । भोटतिब्बत र नेपालको युद्धका कारण युद्धग्रस्त क्षेत्रको अनुभव भोगेका यहाँका बासिन्दाले युद्ध समाप्त भएको खुसियालीमा गोरु जुधाएर उत्सव मनाउन थालेको प्रसङ्ग चर्चामा छ ।

यस्तै, बझाङ्गी राजा विक्रमबहादुर सिंहका छोरा जयपृथ्वीबहादुर विसं १८८७ मा तारुकास्थित मामाघरमा आउँदा गोरु जुधाएर मनोरञ्जन दिएको बताइन्छ । हिउँदमा फुर्सदका समयमा खेतबारीमा गोरु जुधाइने पुरानै रीति भए पनि बझाङी राजा जयपृथ्वीबहादुर सिंह मामाघर आएका बेला भाञ्जालाई मनोरञ्जन दिलाउन गोरु जुधाइएको र त्यसैलाई निरन्तरता दिएको भनाइ छ ।

गतवर्ष, माघे संक्रान्ति पर्वका अवसरमा सोमबार स्थानीय तारुका, वेत्रावाती, पञ्चकन्या र गेर्खुमा ५५ हल गोरु जुधाइएको थियो ।