काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर माघी पर्व मनाउन आग्रह गरेका छन् ।
माघे सङ्क्रान्ति एवम् माघी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै उनीहरूले कोरोना महामारी बढेकोले सुरक्षित भएर पर्व मनाउन आग्रह गरेका हुन् ।
राष्ट्रपति भण्डारीले माघी पर्वले विविधतापूर्ण नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको भावनामा आवद्ध गर्न योगदान गरिरहेको उल्लेख गरेकी छन् । उपराष्ट्रपति पुनले मुलुकको दिगो विकास, स्थायी शान्ति, संविधानको संरक्षण र पूर्ण पालन, राजनीतिक स्थायित्व तथा मुलुकको समृद्धिका लागि जिम्मेवार हुन माघेसंक्रान्तिले सबै नेपालीलाई प्रेरणा दिने विश्वाससमेत व्यक्त गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले माघी पर्व सामाजिक सद्भावको उदाहरण भएको बताएका छन् । माघी तथा माघे सङ्क्रान्ति पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले विशिष्ट पहिचान भएको माघी सामाजिक सद्भावको उदाहरण भएको बताएका हुन् ।
माघी पर्वले समस्त नेपालीबीच आपसी सम्बन्ध अझ प्रगाढ बनाउन मद्दत पुग्नेसमेत विश्वास व्यक्त गर्दै उनले पारस्परिक सद्भाव र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन प्रेरणा प्रदान हुने बताएका छन् ।
उनले शुभकामना सन्देशमार्फत कोभिड–१९ महामारी नियन्त्रणका लागि अवलम्बन गरेका हालसम्मका प्रयास प्रभावकारी देखिए पनि कोभिड–१९ को नयाँ स्वरूपले अझै जोखिम बढाएकाले सरकारले जारी गरेका जनस्वास्थ्यका मापदण्डको पालना गर्दै यो पर्व हर्षोल्लासपूर्वक मनाउन आग्रह गरेका छन् ।





प्रतिक्रिया