देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपालले अफगानिस्तानमा मानवीय सहायता पठाउने

देशान्तर

काठमाडौं – नेपालले संकटग्रस्त अफगानिस्तानमा मानवीय सहायता पठाउने भएको छ । परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीको नेतृत्वमा एक टोली सरकारका तर्फबाट मानवीय सहयोग हस्तान्तरणका लागि आइतबार बिहान काबुल जाने भएको छ ।

मानवीय सहायता लिएर हिमालय एयरलाइन्सको चार्टड विमान काबुल जाने भएको हो । परराष्ट्रमन्त्री डा। नारायण खड्काले मानवीय सहायता पठाउने निणर्य लिएका हुन् । मन्त्रालयका अनुसार लत्ताकपडा र औषधिलगायत मानवीय सहायता सामग्री पठाउन लागिएको हो ।

मन्त्री खड्काले काबुल सहायता मिसनबारे जानकारी दिन आइतबार बिहान त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दैछन् । नेपालले अन्य मुलुकबाट संकटका समयमा मानवीय सहायता लिने गरेको छ । यदाकदा अन्य मुलुकमा पनि संकटका बेला मानवीय सहायता पठाएको छ ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता तथा संयुक्त राष्ट्रसंघ महाशाखा प्रमुख सेवा लम्सालको नेतृत्वमा टोली अफगानिस्तान जानेछ । टोली आइतबार साँझ नै स्वदेश फर्किने मन्त्रालयले जनाएको छ ।

नेपाली टोलीले काबुलस्थित संयुक्त राष्ट्रसंघीय वरिष्ठ अधिकारीलाई मानवीय सहायता सामाग्री हस्तान्तरण गर्नेछ । गत अगस्टमा अफगानिस्तानमा तालिवान सत्तामा आएयता विभिन्न मुलुकले मानवीय सहायता सामाग्री पठाइरहेका छन् । एक महिनाअघि भारतले अफगानिस्तानमा राहत सामाग्री पठाएको थियो ।