काठमाडौँ – राष्ट्रिय अभिलेखालयले नारायणहिटी दरबार सङ्ग्रहालयको श्रीसदनका दुई कोठामा रहेका पूर्वराजा वीरेन्द्र शाहको दस्तावेज सूचीकरण सुरु गरेको छ । अभिलेखालयबाट सेवा निवृत्त दुई कर्मचारी र तीन जना बाहिरबाट करारमा नियुक्त गरी दस्तावेज सूचीकरण थालिएको हो ।
दस्तावेज सूचीकरणमा सङ्ग्रहालयका एक कर्मचारीको पनि सहभागिता छ । गत आर्थिक वर्षदेखि सूचीकरण सुरु गरिएको हो । अहिलेसम्म जन्मोत्सव, गद्दी आरोहण, पदक तथा विभूषणका एक हजार २७५ दस्तावेज भेटिएको अभिलेख अधिकृत रञ्जु हाडाले जानकारी दिइन् । श्रीसदन लामो समय पूर्वराजा वीरेन्द्रको निजी निवासका रुपमा रहेको थियो ।
उपचार, बिन्तीपत्र, भ्रमण, उत्सव, प्रतिवेदन र राजदूतावाससम्बन्धी दुई हजार २६८ दस्तावेज सूचीकरण गरिएको छ । राजनीतिक गतिविधि, स्वर्गारोहण, गुठी जग्गासम्बन्धी, भर्पाइ, रसिदलगायत दस्तावेज एक हजार ३०३ फेला परेको छ । कर्मचारीको दरबन्दी, राजीनामा, नियुक्ति, व्यक्तिगत विवरण र बैंक स्टेटमेन्टका एक हजार ८८७ दस्तावेज सूचीकृत गरिएको छ ।





प्रतिक्रिया