देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सर्वोच्च अदालतका न्यायाधीशसहित दुई दर्जनमा कोरोना संक्रमण

देशान्तर

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्का सहित २४ जनालाई कोरोना पुष्टि भएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार न्यायाधीश खड्का, मुख्य रजिष्ट्रार लालबहादुर कुँवरसहित २४ जनालाई कोरोना पुष्टि भएको हो ।

कोरोना लागेको आशंकामा ३० जना कर्मचारीले परीक्षण गराएकोमा अधिकांशमा लक्षण देखिएको प्रवक्ता दाहालले बताए । न्यायाधीश, मुख्य रजिष्ट्रारसहित कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सर्वोच्चको दैनिक कामकाज प्रभावित बनेको छ ।

प्रवक्ता दाहालका अनुसार कोरोनाबाट संक्रमित हुने कर्मचारीको संख्या बढेसँगै कन्ट्याक्ट ट्रेसिङमा परेकाहरूलाई परीक्षण गर्न र नतिजा नआउन्जेल सजग रहन भनिएको छ । कर्मचारीमा कोरोना पुष्टि भएसँगै पेशी व्यवस्थापनदेखि रिट निवेदन दर्ता, रुजु लगायतका काममा समस्या परेको छ ।

आइतबार स्वाब दिएकाहरूको रिपोर्ट आएपछि मात्रै कर्मचारीको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफल हुने भएको छ । नेपाल बार एसोसिएसनमा आबद्ध विभिन्न वरिष्ठ अधिवक्ता र अधिवक्ताहरूमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

वरिष्ठ अधिवक्ताद्वय हरिहर दाहाल र कृष्णप्रसाद भण्डारीलगायत २० जनाभन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।