देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मुग्लिङ–पोखरा सडक विस्तार योजना, प्रारम्भिक काम रुख कटानबाट सुरु

देशान्तर

काठमाडौ – पोखरालाई काठमाण्डौसँग जोड्ने पृथ्वी राजमार्ग विस्तार तथा स्तरोन्नति गर्ने योजनाको प्रारम्भिक काम रुख कटानबाट अघि बढेको छ ।

एसियाली विकास बैंक (एडीबी) को सहुलियत ब्याजको ऋण सहयोगमा पोखरादेखि मुग्लिङसम्मको दुई लेनको सडकलाई विस्तार गरी चार लेनको फराकिलो र स्तरीय बनाउनका लागि मुग्लिङ–पोखरा सडक योजनाले काम अघि बढाएको हो ।

पोखरा–मुग्लिङ सडक खण्ड विस्तारको कार्य छिटो सम्पन्न गर्ने उद्देश्यले दुई भागमा विभाजन गरेर काम अघि बढाइएको छ ।

पोखराको पृथ्वीचोकमा रहेको सेती नदी पुलदेखि तनहुँको जामुनेसम्मको ३९ किमी क्षेत्र पश्चिम खण्डमा पर्दछ । यो खण्ड हेर्ने गरी पोखरामा मुग्लिङ–पोखरा सडक योजनाकोे कार्यालय स्थापना गरिएको छ ।

यसैगरी जामुनेदेखि आँबुखैरेनीसम्मको ४३ किमी सडक पूर्वी खण्डमा पर्दछ । यसको कार्यालय अहिले गुणादीमा रहेको छ । योजनाको पश्चिम खण्डमा अहिले लगत लिएर बोटबिरुवा कटानको काम सुरु भएको यस खण्डका योजना प्रमुख अमितकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार योजना क्षेत्रमा पर्ने रुख कटानका लागि विभागीय स्वीकृतिपछि अहिले कटानको काम धमाधम भइरहेको छ ।

जामुनेदेखि यताको क्षेत्रमा तीन हजार १६३ रुख कटान गर्नुपर्नेमा अहिलेसम्म एक हजार ८०० वटा कटान गरिएको छ । सेतीनदी पुलदेखि कोत्रेसम्म एक हजार २७१ रुख काट्ने योजना छ। यस क्षेत्रमा स्वीकृत प्राप्त भएकाले केही दिनमै कटान सुरु गरिने योजना प्रमुख श्रेष्ठले जानकारी दिए ।

योजना प्रमुख श्रेष्ठले भने, पश्चिम खण्डको ठेक्का सम्झौता केही पछि भएकाले यस खण्डमा काम सुरु गर्न केही ढिलाइ भए पनि अहिले पहिलो चरणमा रुख कटान सुरु गरेका छौँ । रुख कटानपछि बिजुलीका पोल स्थानान्तरण र घर टहरा हटाउन सुरु गछौँ । पश्चिम खण्डको तुलनामा पूर्वी खण्डको काम केही अघि बढेको बताइन्छ । रुख कटानसँगै विद्युतका पोल हटाउनका लागि प्राधिकरणले लगत सङ्कलनको कार्य अगाडि बढाएको बताइन्छ ।

राजमार्ग विस्तारका क्रममा सडक मापदण्डमा पर्ने घरटहरा हटाउने कार्यसमेतसँगै अघि बढाउने योजनाको तयारी छ । अहिले घरटहराको लगत निले काम भइरहेको योजना प्रमुख श्रेष्ठले जानकारी दिए।

राजमार्ग विस्तार गरेर चार लेनको बनाउने योजना रहे पनि पश्चिम खण्डको सबै केही ठाउँमा भने छ लेन बन्ने भएको छ । योजनाका अनुसार पोखराको सेती पुलदेखि तल्लो गगनगौँडासम्म छ लेन हुनेछ ।

तल्लो गगनगौँडादेखि गाछेपानी (हलेदी झोलुङ्गेपुल) चार लेन, गाछेपानी–खैरेनीटार बजार छ लेन र खैरेनीटारदेखि जामुनेसम्मको खण्ड चार लेनको बन्नेछ । विस्तार गरिएको छ । लेनको सडक फुटपाथसहित ४३ मिटरको हुनेछ । जसमा बीचमा डेढ मिटरको डिभाइडर रहने योजना कार्यालयका प्रशासन प्रमुख जीवनाथ शर्मा मरासिनीले जानकारी दिए । उनका अनुसार डिभाइडरमा फूल रोपेर सडकको सौन्दर्य वृद्धिको योजना छ ।

पश्चिम खण्डलाई सात अर्ब ४० करोड ४६ लाख रुपैयाँ लागतमा चिनियाँ कम्पनी अनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कम्पनी गएको वर्ष जेठमा कम्पनीसँग ठेक्का सम्झौता गरिएको छ । योजना आउँदो ४२ महिनाभित्रमा निर्माण सम्पन्न गर्नुपर्ने गरी सम्झौता गरिएको उनले बताए ।

सम्झौतामा पोखराको विजयपुर पुल, कोत्रे नदी पुल, कुम्लेखोला पुल र म्याग्देखोलामा नयाँ पुल निर्माणसमेत समेटिएको बताइन्छ । पोखराको सेती नदी पुल र दमौलीमा रहेको मादी नदी पुलका लागि थप बोलपत्र आह्वान गरेर काम अघि बढाइने योजनाले जनाएको छ।