देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सीमावर्ती क्षेत्रमा हुने अवैध कार्य रोक्न प्रहरी सक्रियता

देशान्तर

काठमाडौं – नेपाल–भारत सीमावर्ती क्षेत्रमा हुने अवैध कार्य रोक्न बाँके प्रहरीले सक्रियता देखाएको छ । पछिल्लो छ महिनामा बाँके प्रहरीले भन्सार चोरी पैठारी रोकथाममा सक्रियता देखाइ रु चार करोड ३६ लाख २६ हजार बढी राजस्व सङ्कलन गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

उनका अनुसार प्रहरीले यो अवधिमा भन्सार चोरी पैठारीमा २७, भारतबाट अवैधरुपमा ल्याइएका बोइलर कुखुरा, चल्ला, मासु र माछामा सात जनालाई पक्राउ गरी कार्वाही गरेको छ ।

भन्सार चोरी पैठारीबाहेक अन्य अवैध कारोवार रोकथाम गर्न पनि प्रहरीले सक्रियता बढाउँदै गएको छ । प्रहरीले सुन तस्करीमा दुई जना, जुवातासमा ६१ जना, ट्राफिक नियम उल्लङ्घनमा २० हजार ५३५ सवारी साधन र सवारी साधन चोरीमा १७ जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

बाँके प्रहरीले पछिल्लो छ महिनामा भन्सार चोरी पैठारीबाट रु चार करोड ३६ लाख २६ हजार ६०८, सुन तस्कर कारबाहीबाट रु तीन करोड १३ लाख ९७ हजार ६७५, ट्राफिक कारबाहीबाट रु एक करोड १२ लाख ३४ हजार ५०० र नदीजन्य पदार्थ उत्खननबाट रु तीन लाख ३० हजार गरी राजस्व सङ्कलन भएको प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।