देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

धरानस्थित बीपी प्रतिष्ठानका २१६ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

देशान्तर

सुनसरी — धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विभिन्न विभागका ८१ चिकित्सक, १ सय १४ नर्ससहित २ सय १६ जना स्वास्थ्यकर्मीलाई कोरोना भएको छ ।

यति धेरै संख्यामा चिकित्सक र नर्सलाई कोरोना भएपछि जनशक्ति अभावले उपचार सेवा प्रभावित भएको छ । नियमित शल्यक्रिया, ओपिडी सेवा र वार्ड राउण्ड प्रभावित भएको हो । संक्रमित हुने चिकित्सक, नर्स र हेल्परको संख्या क्लिनिकल क्षेत्रका मात्र हुन् ।

एनाटोमी, फिजियोलोजी, बायोकेमेस्ट्री, माइक्रोबायोकेमेस्ट्री, फर्माकोलोजी, फरेन्सिक र कम्यूनिटि हेल्थ विभागका कार्यरत संक्रमित स्वास्थ्यकर्मीहरुको तथ्यांक भने आएको छैन ।

प्रतिष्ठानका डेपुटी डाइरेक्टर डा विकास साहका अनुसार संक्रमित चिकित्सक मध्ये सबैभन्दा बढी एनेस्थेसिया विभागका ११ जना र ५ जना प्राविधिक संक्रमित भएका छन् ।

चिकित्सक, नर्स र प्राविधिकहरु संक्रमित भएपछि उनीहरु सबै हाल होम क्वारेन्टिनमा छन् । स्वास्थ्यकर्मीहरु नै संक्रमित भएपछि अधिकांश सेवा प्रभावित भएको छ । डा विकासले भने, ‘चिकित्सक र नर्सहरु संक्रमित भएपनि हामीले कुनै पनि सेवा भने पुरै बन्द गरेका छैनौं । संक्रमित नभएका चिकित्सक र नर्सहरुबाट भ्याएसम्म सेवा दिइरहेका छौं ।’

उनकाअनुसार प्रतिष्ठानले गर्दै आएको नियमित शल्यक्रिया भने केही दिनलाई सारिएको छ । शल्यक्रियाका गर्ने सर्जरी विभागका चिकित्सकहरु मध्ये नौ जना र शल्यक्रिया गर्नु अघि गर्नुपर्ने बेहोसीको जाँच गर्ने चिकित्सक ११ जना र प्राविधिकहरु ५ जना एकैपटक संक्रमित भएपछि सेवा प्रभावित भएको हो ।
प्रतिष्ठानमा ८ सय बढी विरामी विभिन्न वार्डमा उपचाररत छन् । कोरोना संक्रमित चिकित्सक र नर्सको संख्या बढेसँगै नियमित राउण्डमा पनि असर परेको छ । प्रतिष्ठानले अति गम्भीर प्रकृतिका विरामीमात्र ओपिडी वा इमर्जेन्सीमा ल्याउन अनुरोध गरेको छ । सामान्य भए टेलिफोन, म्यासेन्जर, व्हाट्सएप मार्फत भिडियो वा फोटो पठाएर आवश्यक परामर्श लिने सकिने जनाएको छ ।