देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सडक कार्यालयको लापरबाहीले गैँडाको मृत्यु

देशान्तर

चितवन – वन्यजन्तु करिडोरमा लापरबाहीपूर्ण तरिकाले सडक विस्तारको काम गर्दा गैँडा मरेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । सडक विस्तार गर्दा गर्नुपर्ने आवश्यक मापदण्ड र प्रक्रिया पूरा नगरी डिभिजन सडक कार्यालय भरतपुरले काम गराउँदा गैंडा मरेको हो ।

निकुञ्जको वरण्डाभार वन क्षेत्रमा निर्माणाधीन नालीमा फसेर आइतबार दुर्लभ एकसिङ्गे गैँडा मरेको थियो । गैँडाको पेटमा नाली निर्माण गर्न प्रयोग गरिएको रड छिरेपछि खाडलबाट बाहिर निस्किन नसकेर गैँडा मरेको हो।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार वरण्डाभार क्षेत्रमा सडक निर्माण गर्नुपर्दा आवश्यक पर्ने प्रक्रिया पूरा नगरी काम गरिएको छ । हालसालै डिभिजन सडक कार्यालय भरतपुरले रुख काट्नका लागि अनुमति लिन पत्र पठाएको छ।

सडकले निर्माण पूर्व नै प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने हुन्छ । ती दुवै काम नगरीकनै सडक विस्तार थालिएको पाइएको छ। यस्तो कार्य गर्दा निकुञ्जसँग अनुमति र राय लिनुपर्ने हुन्छ।

आचार्यका अनुसार सहमति राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट लिनुपर्ने हुन्छ । निकुञ्जको रायअनुसार विभागले सहमति दिएपछि निकुञ्जले अनुमति दिने गर्दछ । यहाँ निर्माण गर्दा भने निकुञ्जलाई कामको जानकारी नदिएको आचार्यले बताए ।

घटनास्थलको प्रतिवेदन आज पेश भएसँगै अनुसन्धान अधिकृत तोकेर घटनाको अध्ययन सुरु गर्ने उनले जानकारी दिए । निकुञ्जले सडकलाई पत्र पठाउँदै छ । वन क्षेत्रमा नाली किन आवश्यक पर्‍यो रु सो विषयमा अध्ययन गर्न थालिएको उनको भनाई छ। शहरी क्षेत्रको पानी वन क्षेत्रमा पठाउन लागिएको हो वा के हो रु यस विषयमा बुझ्ने उनले बताए ।