देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सेटिङमा भागेका कैदीको खुलासाः प्रहरीलाई ५ लाख र जेलरलाई २५ लाख बुझाएको थिएँ

देशान्तर


काठमाडौं-प्रहरी र जेल प्रशासनको सेटिङमा भागेका कैदी यमराज परियारले आफूले प्रहरी र जेलरलाई ठूलो रकम दिएको बताएका छन् ।

उनले प्रहरीलाई ५ लाख र जेलरलाई २५ लाख रुपैयाँ बुझाएको खुलासा गरेका हुन् ।

भारतीय प्रहरीको सहयोगमा पक्राउ परेका २९ वर्षीय यमराजले प्रारम्भिक अनुसन्धानमा आफूलाई उपचारका लागि बाहिर ल्याउने प्रहरी जवान धनबहादुर चौधरीलाई ५ लाख रुपैयाँ र जिल्ला कारागारका जेलर युवराज परियारलाई २५ लाख रुपैयाँ बुझाएको बताएको एक अधिकारीले जानकारी दिए ।

‘धनबहादुरले ८ लाख रुपैयाँ मागेका थिए । पछि ५ लाख रुपैयाँमा कुरा मिलेको थियो’, प्रारम्भिक अनुसन्धानका क्रममा यमराजले भनेका छन् । कैदी भगाउन सहयोग गरेको आरोप लागेका दुवै जना पक्राउ परिसकेका छन् ।

कर्तव्य ज्यान मुद्धामा जन्मकैद भोगिरहेका यमराज पुष ८ गते उपचारका लागि अस्पताल आउनेक्रममा चालक चौधरीले चलाएको लु ३१ प १५० नम्बरको मोटरसाइकल लिएर फरार भएका थिए ।

घोराहीस्थित विपि चोकमा रहेको थकाली भान्सा घर एन्ड लजमा खाजा खाँदै गर्दा यमराज बाहिर निस्किएर मोटरसाइकलमा फरार भएका थिए ।

उनी दिउँसो २ बजे त्यहाँबाट निस्किए पनि साँझ ५ बजे मात्र जिल्ला प्रहरी कार्यालयले फरार भएको बारे जानकारी पाएको थियो ।

दाङको राजपुर गाउँपालिका(३ स्थायी घर भएका यमराज कैद सजाय काटिरहेको ७ वर्ष पुगेको थियो । पहिला चौकीदार रहेका उनी पछिल्लो समय जिल्ला कारागारमा नाइके भएर काम गरिरहेका थिए ।

प्रहरीले यमराज फरार भएको भोलीपल्ट उनले लिएर गएको मोटरसाइकल लमहीको मस्कटमा फेला पारेको थियो । उक्त क्षेत्र कारागारबाट २०र२५ मिनेटको मोटरसाइकल दुरीमा पर्छ ।

मोटरसाइकल छाडेर दुई रात जङ्गलको बाटो पैदल हिँडेर भारत पुगेको यमराजले बताएका छन् । त्यसबीचमा उनले ६ वटा सिमहरु प्रयोग गरेको पाइएको छ ।

‘पैसा साँट्न, खानेकुरा ल्याई दिन साथीहरुले पनि सहयोग गरेको देखिन्छ । उनले पुस ८ गतेदेखि पुस १० गते बिहानसम्म जङ्गलको बाटो पैदल हिँडेर भारत पुगेको बताएका छन्’, अनुसन्धानमा संलग्न अधिकारी भन्छन् ।

प्रहरीका अनुसार यमराजका भारतमा बस्दै आएका सहोदार भाईसहित ५ जनाले सहयोग गरेका थिए ।

प्रहरीले भारतीय प्रहरीको सहयोगमा यमराजलाई पन्जाबको लुधियानास्थित एक झुपटी बस्तीबाट पक्राउ गरेको हो । यमराज त्यहाँ आफ्ना नातेदार पर्ने भाईसँग बसिरहेका थिए ।