काठमाडौं – निर्माण थालिएको सात वर्षमा भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य लगभग सकिएको छ ।
विमानस्थलमा पूर्वाधार निर्माण तथा उपकरण जडान सकिएको र केही प्राविधिक काम भइरहेको नेपाल नागरिक उड्यन प्राविधकरणले जनाएको छ । आउँदो बुद्ध जयन्तीको दिन विमानस्थल उद्घाटन गर्ने तयारी प्राधिकरणले गरेको छ ।
त्यसअघि नै परीक्षण उडान भइसक्ने नागरिक उड्यन प्राधिकरणका प्रवक्ता देउचन्द्रलाल कणर्ले जानकारी दिए ।
‘बुद्ध जयन्तीका दिन अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्ने लक्ष्य राखिएको छ,’ कणर्ले भने, ‘सोही बमोजिम अहिले द्रुत गतिमा काम भइरहेको छ । क्यालिव्रकेसन फ्लाइटको चरणमा पुगिसकेका छैनौं । त्यस अघि केही उपकरणहरुको परीक्षण जारी छ ।’
विमानस्थल निर्माण आयोजना अन्तर्गत आइसिबी टु को ठेक्का थाइल्याण्डको एरो थाइ कम्पनीले लिएको छ । आइसिबी टु अन्तर्गत मौसम, सञ्चार, विमानको दिशा पत्ता लगाउने संयन्त्रको निर्माण पर्छ । एरोथाइले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्ड चेकजाँच र परीक्षण उडानको काम गर्दैछ । परीक्षण उडानको तयारीस्वरुप थाइल्याण्डबाट ४ जना प्राविधिकको टोली भैरहवा आइपुगेको छ ।
अहिले ग्राउण्ड टेष्टको काम सुरु भएको छ । फागुनमा परीक्षण उडानको लागि जहाज आउने विमानस्थल निर्माण आयोजना आइसिबी टु का प्रमुख तथा राष्टिय गौरब आयोजनाका उपनिर्देशक प्रविन न्यौपानेले बताए ।





प्रतिक्रिया