देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जिप दुर्घटनामा मृत्यु भएकाहरुको नगद र सुन गायब

देशान्तर

काठमाडौं – इलामको रोङ गाउँपालिका–४ पहिरोमा जिप दुर्घटनामा मृत्यु भएकाहरुको नगद र सुन हराएको छ ।

दुर्घटनामा ज्यान गुमाएका झापाको मेचीनगर नगरपालिका–४ का ५५ वर्षीय रमेश थापा र ४० वर्षीय सूर्यबहादुर थापाको साथमा रहेको करिब ४ लाख रुपैयाँ नगद र आधा तोलाको सुनको औँठी हराएको हो ।

मृतकका भाइ मनोजकुमार थापाका अनुसार इलामबाट खसीबाख्रा खरीद गरी झापामा ल्याएर बिक्री गर्ने थापा दाजुभाइले दुर्घटना भएको दिन जिप लिएर इलामतर्फ जाँदै थिए ।

‘खसीबाख्रा किन्न उहाँहरुले नगद लिएर जानु भएको थियो, घटनास्थलमा हामी पुग्दा प्रहरी र स्थानीय आइसकेका थिए’ उनले भने, ‘दाजुको साथमा रहेको करिब चार लाख रुपैयाँ र औंठी त्यहाँ थिएन ।’

उनका अनुसार थापा दाजुभाइ १२ माघमा बिहान ४ बजे खसी किन्न इलामतिर गएका थिए । ‘परिवारलाई ५स् ५५ बजे दुर्घटना भएको खबर भयो, लगत्तै त्यहाँ गएका थियौ’ उनले भने, ‘यस विषयमा प्रहरी र जनप्रतिनिधिलाई पनि खबर गराएका छौं ।’

जिल्ला प्रहरी कार्यालय, इलामका प्रमुख एसपी महेन्द्र श्रेष्ठले पीडितले दिएको सूचनाको आधारमा हराएको भनिएको नगद र सुनको खोजी भइरहेको बताए ।
घटनामा जिप चालक ३३ वर्षीय अर्जुन कोइराला घाइते छन् । उनको बिर्तामोडको विएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार जिप अनियन्त्रित भएर ५ सय मिटर तल खसेको थियो । दुर्घटनाको थप कारणबारे अनुसन्धान भइरहेको उनको भनाइ छ ।