देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

‘सिमेन्ट उद्योगमाथि लगाइएको भ्रष्टाचारको मुद्दाले निजी क्षेत्र चिन्तित’

देशान्तर

काठमाण्डौ – नेपाली उद्योगी व्यवसायीका तीन वटा ठूला सङ्घ–संस्थाले सिमेन्ट उद्योगमाथि लगाइएको भ्रष्टाचारको मुद्दाले निजी क्षेत्र चिन्तित भएको जनाएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्सले आज सोमवार विज्ञप्ति निकालेर आयात प्रतिस्थापनमा नमुनाका रूपमा हेर्न सकिने एवम् लगानी अभिवृद्धि, रोजगारी सिर्जना र राजस्वमा महत्त्वपूर्ण योगदान दिइरहेको सिमेन्ट उद्योगका लगानीकर्तामाथि पछिल्लो पटक लगाइएको भ्रष्टाचार मुद्दाले निजी क्षेत्रलाई हतोत्साही बनाएको जनाएका हुन् ।

नेपाल सिमेन्टमा आत्मनिर्भर भएको अवस्थामा सरकारबाट नीतिगत सहजीकरण भए निर्यातको उच्च सम्भावना रहेको सिमेन्ट उद्योगलाई प्रताडित गरिनु दुर्भाग्यपूर्ण रहेको तीन वटा संस्थाको भनाइ छ ।

उद्योगीमाथि सिर्जित राजस्व एवम् अन्य दायित्वबारे जानकारी नै नदिइ एक्कासी मुद्दामा जाने निर्णयले निजी क्षेत्रलाई मर्माहत बनाएको उनीहरूको भनाइ छ । यस्तै उनीहरूले क्षतिपूर्ति असुलीका अन्य विकल्प एवम् कानुनी बाटो अवलम्बन गर्नुको सट्टा सिधै मुद्दामा जानु निजी क्षेत्रलाई निस्तेज पार्ने प्रयास भएको बताएका छन् ।