देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मापदण्ड विपरीतका निजी स्वास्थ्य संस्था बन्द गराउन डा. केसीको माग

देशान्तर

काठमाडौं – चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले देशभर खुलेका मापदण्ड विपरीतका निजी स्वास्थ्य संस्था बन्द गराउन सरकारलाई आग्रह गरेका छन्।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा भेटेर केसीले उक्त आग्रह गरेका हुन्। भेटका क्रममा केसीले मन्त्री खतिवडालाई सात बुँदे ज्ञापन पत्र बुझाउँदै देशभर पूर्वाधार र पर्याप्त जनशक्तिविना नै निजी स्वास्थ्य संस्था खुल्ने क्रम बढेको र यसबाट बिरामी ठगिने, रोग बल्झिने र बिरामीको मृत्यु हुनेसम्मको अवस्था रहेको औंल्याए।

पत्रमा भनिएको छ, ‘देशभर नै गाउँदेखि शहरसम्म कुनै पूर्वाधार र जनशक्तिको व्यवस्थाविना निजी स्वास्थ्य संस्थाहरू च्याउझैं सञ्चालनमा आएका छन्। त्यसो गर्नु गैरकानुनी मात्र नभई बिरामीहरू ठगिने, रोग बल्झिने, अंगभंग हुने र मृत्युसमेत हुने अवस्था रहेकाले देशका सबै तहका स्वास्थ्य संस्थाहरूको चुस्त अनुगमन गरी मापदण्डविपरीतका स्वास्थ्य संस्थाहरूलाई बन्द गराई दोषीलाई कारबाही गरियोस्।’