देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अब कांग्रेसले जित्नुपर्छ 

देशान्तर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले नेपाली कांग्रेसको संगठन बलियो भएकाले वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा पार्टीले बहुमत पालिका जित्ने दाबी गरेका छन् । अहिले नेपाली कांग्रेस एक ढिक्का रहेको र पछिल्लो समय कम्युनिस्टलाई बहुमत दिएकै कारण तीन वर्षको समय अस्तव्यस्ततामा बितेकाले पनि जनता अहिले कांग्रेसप्रति आकर्षित भएको ढुंगानाको भनाइ रहेको छ । देशान्तरकर्मी मुक्तिबाबु रेग्मीसँग कुरा गर्दै नेता ढुंगानाले स्थानीय तहको निर्वाचनका लागि तल्लो तहबाटै उम्मेदवारहरूको सिफारिस गरेमा हाम्राले भन्दा पनि राम्राले टिकट पाउने विश्वास व्यक्त गरे । साथै महाधिवेशनपछि कांग्रेसका अब गुट, उपगुट सकिएको बताउँदै सभापति देउवाले सबैलाई मिलाएर लैजानुपर्ने र त्यस कुरामा डा. शेखर कोइरालाले पनि साथ दिनुपर्नेमा जोड दिए । उनले अहिले नेपाली राजनीतिमा सबैभन्दा पेचिलो विषय बनेको एमसीसी संसद्मा पेस गरेर छलफल पछि निकास निकाल्नु पर्नेमा जोड पनि दिएका छन् । एमसीसी संसद्मा पेस गर्न नदिने सभामुख अग्निप्रसाद सापकोटाको अडानको पनि आलोचना गरे । नेपाली कांग्रेस न्यायालयमा देखिएको समस्याबारे जानकार रहेको बताउँदै अब चाँडै कार्यपालिकाले हस्तक्षेप गर्नुपर्ने बेला आएको पनि बताए । आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको अवस्था, एमसीसी र पछिल्लो समय न्यायालयमा देखिएको विवादका विषयमा ढुंगानासँग गरिएको कुराकानीको सम्पादित अंश :-

स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि मुलुक चुनावमय बनेको छ, नेपाली कांग्रेस कसरी चुनावको तयारीमा केन्द्रित छ ?

सरकारले वैशाख ३० गते गर्ने भनेर स्थानीय निर्वाचनको मिति घोषणा गरिसकेको छ । निर्वाचनका लागि यसअघि जस्तै नेपाली कांग्रेसले आफ्नो कार्यतालिका बनाउँछौं, संगठनलाई व्यवस्थित बनाउँछौं । स्थानीय तहमा उम्मेदवारहरू चयन गर्नका लागि वडा तहदेखि नै सिफारिस लिएर आउने र निर्णय पनि सम्बन्धित निकायबाट गराउने गरेका थियौं । अहिले पनि यसैगरी हामीले सम्पूर्ण कार्यकर्तालाई परिचालन गर्ने काम गर्नेछौं । यसै विषयमा नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा छलफल भएको छ ।

केन्द्रीय कार्यसम्पादनभन्दा पनि पूर्ण केन्द्रीय कार्यसमितिको बैठक बसेर निर्णय गर्दा राम्रो हुन्थ्यो होला ?

यो कुरामा म सहमत छु । केन्द्रीय कार्यसमितिले निर्णय गर्दा झनै राम्रो सन्देश पनि जान्छ । तर, कुनै पनि कुराको ‘प्रोसेस’ हुन्छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्नुभन्दा पहिला पदाधिकारी बैठक बसेर ‘अजेन्डा’ तय गरेर कार्य सम्पादनमा आएको हो । कार्य सम्पादनमा छलफल भएर निचोडमा पुगेपछि केन्द्रीय कार्यसमितिमा पनि राख्नुपर्ने अवस्था सृजना हुन्छ नै । त्यसैगरी प्रदेश, जिल्ला र वडातहसम्म पनि छलफल गर्नुपर्ने हुन्छ । त्यहाँ छलफल भएपछि मात्रै स्थानीय तहका उम्मेदवारहरूको टुंगो लाग्छ । यस्तो गर्दा समग्र कार्यकर्ता एक ठाउँमा उभिएर कांग्रेस अघि बढ्नु पर्छ । यसरी जाँदा पनि कहीँ जितिन्छ कहीँ हारिन्छ । यसरी सबै प्रक्रिया पुर्‍याएर अघि बढ्दा पार्टीलाई पनि राम्रो हुन्छ भनेर नै हामी आउँदो स्थानीय निर्वाचनका लागि हामी लागि परेका छौं ।

स्थानीय तहमा नेपाली कांग्रेस कहाँनेर ?

नेपाली कांग्रेसले देशमा जति पनि प्रजातन्त्रको लडाइँ लड्यो । साँच्चै भन्नुहुन्छ भने नेपाली जनता अहिले पनि नेपाली कांग्रेससँगै आशावादी छन् । नेपाली कांग्रेस २०४८ सालदेखि धेरै नै तल गएको छैन । त्यसैले अहिले पनि नेपाली जनता प्रजातन्त्र र लोकतन्त्रको लडाइँ लड्ने र यसको पहरेदार भनेको नेपाली कांग्रेस नै हो भन्नेमा प्रष्ट छन् । यसअघि पहिलो पटक स्थानीय तहको निर्वाचन भयो त्यसले गर्दा र त्यतिबेला व्यवस्थापन पनि राम्रो भएन । साथै २०७४ को निर्वाचनमा कम्युनिस्टलाई बहुमत दिए पनि त्यसले संघीयतालाई मजबुत बनाउन सकेन । तीन तहको सरकार हामीले भन्यौं । कम्युनिस्टको नेतृत्वले तीन तहको सरकारलाई नै अस्तव्यस्त पारिदियो । स्थानीय तह र प्रदेशलाई त उहाँहरूले कुनै मान्यता नै दिनु भएन । संघीय संसद् त अझ दुईदुई पटक विघटन नै गर्नुभयो ।

कम्युनिस्टले यस्तो गरेका कारण कांग्रेस राम्रो भन्ने कि कांग्रेसका कामले कांग्रेस राम्रो भन्ने ? 

कांग्रेसका कामले कांग्रेस राम्रो भन्ने । नेपाली जनताले एउटा कुरा बुझेका छन् । नेपाली कांग्रेस परिवर्तनको वाहक हो । यो देशमा भएका सबै आन्दोलनसँगै संविधान निर्माणको नेतृत्व पनि कांग्रेसले नै गरेको हो । पछिल्लो ७० वर्षमा भएका हरेक परिवर्तनमा कांग्रेस अग्रभागमा रहेको छ । संविधान निर्माण गर्दा पनि तीन जना कम्युनिस्ट प्रधानमन्त्री भए उनीहरूले नसकेपछि नेपाली कांग्रेसको नेतृत्वमा २०७२ सालमा संविधान जारी भयो । यसबाट के पनि प्रष्ट हुन्छ भने यो देशको लोकतन्त्र संघीयता र गणतन्त्र स्थापनामा कांग्रेसको ठूलो भूमिका छ र कांग्रेसले मात्र संस्थागत गर्न सक्छ । तमाम काम गरे पनि जनतामा नेपाली कांग्रेसले पुर्‍याउँदा पनि कहीँ न कहीँ हाम्रै कार्यकर्ताभित्र सुव्यवस्थित गर्न सकेका छैनौं । यसपटकको स्थानीय निर्वाचनमा यसलाई सुव्यवस्थित गरेर नै अघि बढ्ने र सबैभन्दा ठूलो पार्टी मात्रै होइन बहुमतको सरकार पनि बनाउने कोसिसमा छौं र बनाउँछौ पनि ।

कांग्रेसमा फेरि उम्मेदवार छनोटबाटै लफडा सुरु हुन्छ, यसले संगठन पनि भताभुंग जस्तो बन्छ ?

संगठन भताभुंग त हुँदैन । कांग्रेस लोकतान्त्रिक पार्टी हो । यस्तो पार्टीमा आ आफ्नो उम्मेदवारी पाउनु पर्छ भनेर आशा राख्नु स्वाभाविक पनि हो । तर कहीँ कहीँ यस्ता कुराहरू देखिन्छन् । २०७४ को चुनावमा नेपाली कांग्रेस सत्तामा आउन सकेन र जनताले दुःख पाएको कुरा यस पटक राम्रोसँग महसुस गरेका छन् । त्यसैले जनताले हामीहरू बरालिएर हुँदैन । देशको हित गर्ने पार्टी नेपाली कांग्रेस हो भन्ने राम्रोसँग बुझेका छन् । कांग्रेससले नजित्दा यो देशमा राजनीतिक स्थिरता पनि हुँदैन । त्यसैले जनता अहिले कांग्रेसको पक्षमा रहेकाले विगतको विरासत कांग्रेसले फर्काउँछ ।

विगतमा कांग्रेसमा ‘राम्रो भन्दा पनि हाम्रो’ भन्ने चलन थियो, अहिले त भर्खर महाधिवेशन सकेर आउनु भएको छ, तुष त अझैं बँँकी छ होला ?

महाधिवेशनको तुष त बाँकी छँदै छैन । राजनीतिमा डेमोक्रेटिक पार्टीभित्र निर्वाचन स्वाभाविक प्रक्रिया हो । पहिला सहमति खोज्ने हो, सहमति नहुँदा मतदानमार्फत नेतृत्व चयन गरिएको हो । हामीले कम्युनिस्ट पार्टीको जस्तो जुमबाट फुकेर त फलानो नेता भइस् भनेको जस्तो गरेका होइनौं । हामीले त सबै मतदाता प्रतिनिधिलाई भोट हाल्न लगाएर नेतृत्व चयन गरेका हौं । हामीले तल्लो तहदेखि नै भएको ठाउँमा सहमति नभएको ठाउँमा मतदान अर्थात् डेमोक्रेटिक प्रोसेसबाट अधिवेशन गरेर आएका हौं । नेपाली कांग्रेसको अधिवेशनबारे देश, विदेश सबैले थाहा पाउने गरी भएको हो । एमाले र माओवादीको अधिवेशन के त्यस्तै भएको थियो त । अधिवेशन भयो भन्छ, अधिवेशनबाट को आयो के भयो कस्तो भयो भन्ने थाहा नै हुँदैन । नेपाली कांग्रेसको विधानले सबै समावेशी र समानुपातिक प्रतिनिधित्वको व्यवस्था पनि गरेकोे छ । यसरी सबैलाई समेटेर संगठन निर्माण गरेकाले यो संगठनले आगामी निर्वाचनमा प्रतिबद्ध भएर लाग्नेछ र यसले सकारात्मक नतिजा पनि ल्याउनेछ ।

तपाईंहरूका भ्रातृ तथा शुभेच्छुक संस्थाहरू निष्क्रिय रहेको अवस्थामा चुनावमा जाँदा सफलता मिल्छ त ?

नेपाली कांग्रेसको नर्सरी भनेका भ्रातृ तथा शुभेच्छुक संस्थाहरू नै हुन् । हाम्रा १३ वटा भ्रातृ संस्थाहरू छन् । ती संस्थाहरू समयमै अधिवेशन नहुँदा अहिले निष्क्रिय अवस्थामा छन् । विगतमा अधिवेशन गर्ने तयारी हुँदै गर्दा देशको राजनीतिक अवस्थाका कारण आन्दोलनमा जानुपर्ने अवस्था आइलाग्यो । तर अहिले जुन परिस्थितिबाट अगाडि बढेका छौं, निर्वाचनको मिति घोषणा भइसकेको छ, यो परिस्थतिमा हामी व्यवस्थित भएर अगाडि बढ्छौं ।

नेपाली कांग्रेसमा गुट सकियो त अब ?

हाँस्दै । म त गुट भनेर भन्दिनँ । गुटभन्दा पनि ‘पावर सेरिङ’ हो । अहिले सभापतिमा शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ । उता डा. शेखर कोइरालाले पनि राम्रो मत ल्याउनु भएको छ । त्यो मत पनि समग्ररूपमा पार्टीभित्र एक भएर जानुपर्छ । यसलाई गुट नभनौं पावर सेरिङ भनौं । चुनावमा अल्पमतमा परेको समूहलाई पनि समेटेर कसरी एक बनाउने भन्ने कुरामा ध्यान दिन जरुरी छ । त्यो दायित्व सभापतिको हो । यसैगरी डा. शेखर कोइरालाले पनि कसरी पार्टीलाई एक ढिक्का बनाएर सशक्त बनाउने भन्ने कुरामा पहल गर्नुपर्छ । शेखरले पनि सभापति देउवालाई सहयोग गरेर नेपाली कांग्रेसलाई एक ठाउँमा उभ्याउनका लागि भूमिका निर्वाह गर्नुपर्छ । नेपाली कांग्रेसमा जहिले पनि निर्वाचनको माध्यमबाट नेतृत्व चयन भएको छ । नेपाली कांग्रेसमा आठौं महाधिवेशनमा मात्रै सर्वसम्मत सभापति चयन गरिएको हो । त्यतिबेला कृष्णप्रसाद भट्टराई सभापति बन्नु भएको थियो । त्यसपछिका सबै महाधिवेशनमा निर्वाचनबाटै नेतृत्व चयन भएको छ । यसलाई दुई गुटभन्दा पनि दुई समूह भएर पावर सेरिङमा कुराहरू राख्ने गरिएकाले नै नेपाली कांग्रेस हरेक परिवर्तनको नेतृत्व गर्न सफल भएको हो ।

पावर सेरिङमा पनि दिन नखोज्ने र पाएनौं भन्ने पक्ष हुन्छ फेरि ?

दिन नखोज्ने शक्ति र अर्को शक्तिबीच समन्वय नभएमा यसलाई त केन्द्रीय कार्यसमिति र कार्यसम्पादन समितिले मिलाउँदै हिँड्नुपर्छ । हाम्रो पनि त्यो भूमिकामा सहभागिता हुनुपर्छ । जसले गर्दा पार्टीको नेतृत्व वर्गलाई एक ठाउँमा उभ्याउन सकियोस् । नकारात्मक दृष्टिकोणले हिँड्न थाल्यौं भने परिवर्तनको नेतृत्व हामीले गर्‍यौं, त्यसलाई पनि हामी व्यवस्थित गर्न सक्दैनौं । हो हामी संघर्षको दिनमा एकै ठाउँमा रहे पनि संघर्ष पछि पनि हामी एक ठाउँमा नउभिँदा राजनीतिक परिवर्तनको प्रतिफल नेपाली जनताले पाउने सकेका छैनन् । यो कुरा पार्टीमा पनि लागू हुन्छ । त्यसैले अब नेपाली कांग्रेस एक भएको छ र यसले पक्कै पनि नेपाली जनताको पक्षमा निर्णय गर्छ र जनताले प्रतिफल पाउँछन् भन्नेमा विश्वस्त हुन सकिन्छ ।

न्यायालय अस्तव्यस्त भएको लामो समय भइसक्यो, कांग्रेसको धारणा के हो ?

नेपाली कांग्रेस सुरुदेखि नै शक्ति पृथकीकरणको सिद्धान्तलाई मान्दै आएको छ । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको आफ्नै क्षेत्राधिकार रहेको छ । यसको मूल मान्यता भनेकै आफैं व्यवस्थित भएर हिँड्नुपर्छ भन्ने नै हो । बीपी कोइराला नेपाल आउँदा उहाँमाथि सर्वोच्च अदालतमा मुद्दाहरू थिए । त्यही मुद्दामा भीमनारायण श्रेष्ठ, यज्ञबहादुर थापाको ज्यान गयो । त्यही बेलामा पनि बीपी कोइरालाले न्यायालयलाई विश्वास गर्छु भन्नुहुन्थ्यो ।

तर, अवस्था त्यस्तो रहेन ?

अहिले सर्वोच्चमा जुन अवस्था देखिरहेको छ, यो विषयमा हामी के सोचिरहेका थियौं भने, सर्वोच्च भनेको न्यायपालिका हो र त्यहाँ कार्यपालिकाले हस्तक्षेप गर्नु हुँदैन भन्ने धारणा हो । अहिले बार र बेन्चको जुन अवस्था सृजना भएको छ, न्यायाधीशहरू भित्र पनि जुन परिस्थति हामीले देख्यौं, यो परिस्थिति दुःखद् र दुर्भाग्य हो । यो अवस्था आउनुमा हाम्रा पनि केही कमी, कमजोरीहरू पनि छन् । हामीले एक जना सचिवमार्फत सर्वोच्च अदालतको न्यायाधीशलाई निकालेको दिन पनि बिर्सन हुँदैन । हामीले नै न्यायपालिकालाई सुदृढ र बलियो बनाउन नदिएकै कारण अहिलेको अवस्था आएको हो । न्यायालयले आफ्नो निर्णय आफैं गर्नुपर्छ भन्ने हाम्रो धारणा हो । अहिलेको अवस्थामा अब हस्तक्षेप गर्नुपर्ने परिस्थिति आउन थालेको छ । हामीले अहिले न्यायालयको अवस्थाबारे नजिकबाट नियालिरहेका छौं । यसलाई न्यायालयले सुधार गर्नुपर्छ । यदि सुधार भएन भने कार्यपालिकाले हस्तक्षेप गर्नुपर्ने अवस्था आउँछ ।

कहिले हस्तक्षेप गर्ने, यत्तिकै न्यायालयको अवस्था बिग्रन दिइरहने ?

संसद् चलेको भए यो समस्या पहिला नै समाधान भइसक्थ्यो । संसद्ले यसलाई व्यवस्थित गथ्र्यो होला । प्रतिपक्षले अहिले पनि संसद् चल्न दिनु भएको छैन । उहाँहरूको उद्देश्य भने जहिले पनि अड्को थापेर राजनीतिक अस्थिरता निम्त्याउने रहेको छ । प्रतिपक्षको धारणा सबै हुनुपर्छ भन्ने त होइन । प्रतिपक्षको भावनालाई बोकेर हिँड्नु पर्दैन भन्ने पनि त होइन । प्रतिपक्षलाई भेटेर प्रधानमन्त्रीले पनि अहिले रहेको गाँठो फुकालौं भन्नु भएको छ । यसलाई खोल्नका लागि प्रतिपक्ष पनि सकारात्मक तरिकाले अगाडि सर्नुपर्छ ।

संसद् खोल्ने कुरा त एमसीसीका कारण सभामुखले अड्काएको म्यासेज पनि त आएको छ नि ?

एमसीसीकै कुरा गर्ने हो भने यो विषय संसद्मा छलफल हुनुपर्छ । संसद्ले एमसीसी पास गराउने वा फेल गराउने अधिकार राख्छ । म धेरै पटक संसद्को सदस्य र चिफ ह्वीप भएर पनि चलाएको व्यक्ति हुँ । संसद्मा धेरै कुराको छलफल हुन्छ । तर संसद्मा फलानो विधेयक म टेबल नै गर्न दिन्न भनेर सभामुखले भन्न मिल्दैन । टेबल भयो भने पास या फेल गराउने अधिकार सांसदहरूको हो । संसद् भनेको जनताको प्रतिनिधित्व गर्ने जनताको उपल्लो र सार्वभौमसत्ता सम्पन्न थलो हो । यस्तो ठाउँमा सभामुखले एमसीसी टेबल नै हुन दिन्न भन्ने कुरा मैले पनि अहिलेसम्म बुझेको छैन । त्यसैले अब एमसीसी संसद्मा टेबल हुन दिउँ र सांसदहरूलाई छलफल गर्न दिनुपर्छ । छलफल हुँदा कति विधेयकहरू यसअघि पनि त फेल भएका छन् नि ।

यहाँ पास फेलभन्दा पनि एमसीसी फेल भयो भने संसार नै डुब्छ भन्ने पनि त बुझाइ छ फेरि ?

महाकाली सन्धिमा पनि त त्यस्तै भएको हो । अरुण तेस्रोको विषयमा पनि त्यस्तै भएको थियो । आजभन्दा २७ वर्ष पहिला अरुण तेस्रो तयार भएको भए नेपाली जनताले लोडसेडिङ व्यहोर्नु पर्ने थिएन, नेपाली जनताले दुःख पाउनु पर्ने थिएन । विकासको गति धेरै माथि पुग्ने थियो । अहिले आएर अरुण तेस्रोको विषयमा एमालेका नेताहरूले गल्ती भएको भनेर स्वीकार गर्न थाल्नु भएको छ । त्यसैले एमसीसीको विषयमा सोच विचार गरेर संसद्ले निर्णय गर्नुपर्छ । बाहिर हल्लाको भरमा लागेर काम गर्नु हुँदैन । एमसीसीको विषयमा जुन किसिमले प्रचार गरिएको छ, यो प्रचार सही होइन । हामीले कुनै कुरालाई भावना वा उत्तेजनामा आएर गलत काम गर्‍यौं भने यसले राष्ट्रलाई नै घाटा गर्छ ।