देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जेब्रा झोलामा मानिसको टाउको र खुट्टा भेटियो

देशान्तर

सुनसरी – धरान – धनकुटा लोकमार्गमा पर्ने निसाने जङ्गलमा हत्या गरेर फालिएको मानिसको टाउको र दाहिने खुट्टा भेटिएको छ । सुनसरीको धरान उपमहानगरपालिका(४ मा दाउरा काट्न जङ्गल गएका स्थानीयले दुर्गन्ध फैलिएपश्चात खोजिनीति गर्दा जेब्रा झोलामा मानिसको टाउको र खुट्टा भेटिएको छ ।

मानिसको टाउको र खुट्टा भेटिए पश्चात तत्काल प्रहरीलाई खबर गरिएको नेकपा एमाले धरान(१३ का सचिव विष्णु चौलागाईले बताए । तत्काल इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी परिचालन गरी निसाने जङ्गलमा हत्या गरी फालिएको मानिसको टाउको र दाहिने खुट्टा बरामत गरिएको डीएसपी नरेन्द्र कुवँरले जानकारी दिए ।

उनले घटनाको मुचुल्का तयार गरी टाउको र खुट्टा शल्य परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको जानकारी दिए । टाउकोमा दाह्री पलाएकाले खसआर्य समुदायको मानिसको हत्या भएको अनुमान गर्न सकिने उनको भनाई छ ।

घटनाको प्रकृति हेर्दा कसैले मानिसको हत्या गरेको प्रहरीको भनाई छ । हत्या गरिएका मानिसको पहिचानका लागि सुनसरी, मोरङ, उदयपुर, धनकुटा लगायतका छिमेकी जिल्लाका प्रहरी कार्यालयहरुलाई पत्राचार गरिएको डीएसपी कुवँरले बताएका छन् ।

उनले घरबाट कोहि हराइरहेको भए तत्काल इलाका प्रहरी कार्यालय धरानमा परिवारका सदस्यलाई सम्पर्कमा आउनसमेत आग्रह गरेका छन् । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।