देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सञ्चारउद्यमी तथा विज्ञापन व्यवसायी लामिछाने जसपामा

देशान्तर

काठमाडौं । नेपाली सञ्चारमाध्यममा लामो समयदेखि क्रियाशील सञ्चारउद्यमी विकास लामिछाने जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । गोरखाका स्थायी बासिन्दातथा एपीवान टेलिभिजनका पूर्वमहाप्रबन्धक लामिछाने उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले नेतृत्व गरेको जनता समाजवादी पार्टीमा प्रवेश गरेका हुन् ।

लामिछानेले भूमिगत अवस्थामा रहेको माओवादीको विद्यार्थी फाँटमा रहेर काम गरेका थिए । पार्टी भूमिगत भए पनि २०५६ सालमा उनले जिम्मेवारी लिएको कलेजको स्वतन्त्र विद्यार्थी युनियनमा अखिल क्रान्तिकारीको प्यानल नै निर्विरोध निर्वाचित गराउनका लागि भूमिका खेलेका थिए । संविधानसभा अघि माओवादी पार्टी खुला राजनीतिमा प्रवेश गरेपछि लामिछाने सञ्चारकर्ममा अघि बढेका थिए । झन्डै डेढ दशकदेखि विज्ञापन व्यवसायमा संलग्न लामिछाने सञ्चारमाध्यममा पनि आबद्ध छन् । अहिले भने उनी ‘मिडिया मन्त्र’ नामक विज्ञापन एजेन्सी सञ्चालन गर्छन् ।

काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमका बीच लामिछानेको नेतृत्वमा ३५ जना जसपामा प्रवेश गरेको जनाइएको छ । लामिछानेको नेतृत्वमा, गौतम लामिछाने, रोशन बस्नेत, टीका सिम्खडा, सञ्जु राई, विक्की लामा, मिङ्माछिरिङ लामा, अशोक लामा, रुषेश लामासहित ३५ जनाले जसपाको सदस्यता लिएका हुन् । कार्यक्रममा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नवप्रवेशीहरूलाई स्वागत गर्दै समसामयिक राजनीतिक घटनाक्रममा विषयमा धारणा राखेका थिए । उनले नवप्रवेशीहरूलाई उनीहरूको क्षमताअनुसार पार्टीमा जिम्मेवारी दिने पनि प्रतिबद्धता व्यक्त गरे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले अहिले राष्ट्र गम्भीर मोडमा पुगेको भन्दै यसका लागि सबै मिलेर निकास दिनुपर्नेमा जोड दिए । एमसीसीका कारण अहिले मुलुक दुई ध्रुवमा विभाजित भएको बताउँदै विकासका लागि एमसीसी संसद्बाट पारित गरेर कार्यान्वयनमा जानुको विकल्प नभएको बताए ।

नवप्रवेशीको तर्फबाट धारणा राख्दै विकास लामिछानेले अहिलेको अवस्थामा जसपासमावेशीसहितको संघीयता, सुशासन, समृद्धि, र समाजवादको एकमात्र वैकल्पिक राजनीतिक पार्टी भएकोले आफू जसपामा प्रवेश गरेको बताए । जसपाको आगामी बैठकले लामिछानेलाई केन्द्रीय सदस्यसहित पार्टीको महत्वपूर्ण जिम्मेवारीदिने बुझिएको छ ।