देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर

देशान्तर

काठमाडौँ — रुसले युक्रेनमा आफ्ना सेनाको उपस्थिति बढाएर मुख्य शहरमा आक्रमण तीव्र पारेसँगै अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलरसम्म पुगेको छ । बिहीबार प्रतिब्यारेल कच्चा तेलको मूल्य अघिल्लो दिनको तुलनामा ३.५८ प्रतिशतले बढेर ११७ डलर पुगेको छ । त्यस्तै डब्लुटीआई कच्चा तेलको मूल्य प्रतिब्यारेल ११४ डलर नाघेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सन् २०१४ यताकै उच्च हो ।

रुसले युक्रेनका शहरमा आक्रमण बढाएसँगै कच्चा तेलको मूल्य महँगिएको हो । विश्वमा धेरै तेल निर्यात गर्ने मुलुकमा रुस तेस्रो स्थानमा पर्छ भने धेरै ग्यास निर्यात गर्नेमा दोस्रो ठूलो मुलुक हो । विश्वमा १० प्रतिशत तेलको आपूर्ति रुसले नै धानिरहेको छ । रुसले ठूलो परिमाणको तेल हातहतियार उत्पादनका लागि भण्डारण गरेको आरोप अमेरिका, बेलायत, क्यानडा लगायतका मुलुकहरुले लगाउँदै आएका छन् । यद्यपी रुसबाट आपूर्ति हुने ग्यास र तेलमा कुनै बाधा नपुऱ्याउने यी मुलुकहरुले बताउँदै आएका छन् ।

कच्चा तेलको मूल्य बढेसँगै नेपालमा समेत असर परिसकेको छ । भारतबाट नेपाल आयल निगमलाई पछिल्लो समय तेलको मूल्य उच्च दरले बढेर आएको छ । यसले नेपाल आयल निगमलाई पनि तेलको मूल्य बढाउन दवाव परेको छ । अर्कोतर्फ निगमले भारतीय आयल कर्पोरेसन (आईओसी)लाई भुक्तानी गर्नुपर्ने रकम पनि बढ्दै जाने भएकाले मुलुकको ब्यापार घाटा यसले झनै बढाउने छ ।