देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आईसीसी विश्वकप क्रिकेट लिग २ का लागि नेपाली टिमको घोषणा

देशान्तर

यूएईमा हुने आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि नेपाली टिमको घोषणा भएको छ । जसमा १६ खेलाडी यो पटक यूएई जाने भएका छन् ।

मुख्य प्रशिक्षक पुबुदु दशानायकेले पहिलो चरणमा २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएकोमा अन्तिममा १६ खेलाडीलाई छनोोट गरेका छन् । २० खेलाडीको सूचीबाट राजु रिजाल, सुसन भारी, अनिल कुमार शाह र गुल्सन झा बाहिर भएका छन् ।

अन्तिम चरण परेका खेलाडीमा सन्दिप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आशिफ शेख, कमलसिंह ऐरी, बिबेक यादव, सागर ढकाल, पवन सराफ, करण केसी, विनोद भण्डारी, रोहित पौडेल, सोमपाल कामी, बिक्रम सोब र भिम शार्की छन् ।

टिममा बिनोद भण्डारी, सोमपाल कामी, रोहित पौडेलले कमब्याक गरेका छन् भने बिबेक यादव र सागर ढकालले पहिलो पटक एकदिवसिय टिममा स्थान बनाएका छन् । यस्तै पवन सराफले पनि ओमानमा भएको लिग टु को सिरिज पछि टिममा कमब्याक गरेका छन् ।

नेपाली टिमले यूएई जानु अगाडी एक साता श्रीलंकामा प्रशिक्षण गर्नेछ । जसमा उसले चार वटा अभ्यास खेलपनि खेल्नेछ । नेपाली टिम शनिबार श्रीलंका जाने भएको छ । श्रीलंकामा नेपालले पहिलो श्रेणीका टिमसँग अभ्यास खेल खेल्नेछ । त्यसपछि टिम १४ मार्चमा यूएई प्रस्थान गर्नेछ ।

नेपालले श्रीलंकामा हुँदा श्रीलंकन नेभीसँग दुई खेल खेल्नेछ भने एक खेल श्रीलंकन पुलिससँग खेल्नेछ । यस्तै अन्तिम खेल कम्बाइन ११ सँग खेल्नेछ । पहिलो खेल मार्च सातमा खेल्नेछ भने दोस्रो खेल मार्च आठमा, तेस्रो खेल मार्च १० र अन्तिम खेल मार्च ११ मा खेल्नेछ ।

यूएईमा नेपालले घरेलु टिम र पीएनजीसँग त्रिकोणात्मक सिरिज खेल्नेछ । जसमा पहिलो खेल सारजाह मैदानमा पीएनजीसँग खेल्नेछ । जुन १६ मार्चमा हुनेछ ।

नेपालले दोस्रो खेल युएईविरुद्ध मार्च १८ मा खेल्नेछ । नेपालको तेस्रो खेल युएईविरुद्ध नै मार्च २१ तारिखमा हुनेछ । नेपालले अन्तिम खेल पीएनजीविरुद्ध मार्च २२ मा खेल्नेछ ।

टिमको अफिसियलमा कैलाश विष्ट म्यानेजर रहेका छन् भने सहायक प्रशिक्षकमा प्रकाश शर्मा, प्रशिक्षण सहयोगीमा राज शर्मा तथा एनालिष्टमा रमन सिवाकोटी, फिजियोमा विक्रम न्यौपाने छन् ।

लिगमा टु मा नेपालले अहिलेसम्म आठ खेलमा चारमा जित र चारमा हार ब्यहोरेको छ । उसको कुल आठ अंक छ ।