देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मेलम्ची खानेपानी आयोजनाको मर्मत ६० प्रतिशत सम्पन्न

देशान्तर

काठमाण्डौँ । गत असार १ गतेको बाढी पहिराले क्षति पुगेको मेलम्ची खानेपानी आयोजनाको मर्मतकार्य ६० प्रतिशत सम्पन्न भएको छ । चैतभित्र काठमाडौँ उपत्यकामा अस्थायीरुपमा भए पनि पानी लैजाने तयारीमा पुगेको मेलम्ची खानेपानी विकास समितिका डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए ।

चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले नेपाली सेनाको सहयोगबाट ढुङ्गा विष्फोट गराएर नदी सफाइ गर्ने काम ६० प्रतिशत काम सकिएको जनाएको छ । अस्थायीरुपमा काठमाडौँमा पानी ल्याउन मेलम्ची नदीको गेट १, ९ र ३८ मात्र प्रयोग हुने भएकाले मर्मतको काम अन्तिम चरणमा पुगेको पत्रकारसँग मुहानस्थलमा कुराकानी गर्दै कुँवरले जानकारी दिए ।

गेट नम्बर ३८ मा हाइड्रोलिक सिष्टम बिग्रिएकाले यसमा थप मर्मतको काम सुरु भएको र बाँकी गेटमा भएको क्षति हेरेर अस्थायीरुपमा पानी सञ्चालन गर्न नयाँ गेट जडान गर्ने गरी तयारी थालिएको उनले बताए । मुहानमा खसेका ढुङ्गा माटो सफाइको काम सकिएकाले चैत मसान्तसम्म पानी काठमाडौँ पठाउन सकिने समितिले जनाएको छ ।

गत असार १ गतेको बाढी पहिराले क्षति पुगेको मेलम्चीको पानी पिउने काठमाडौँ उपत्यकावासीको सपना पर धकेलिएको छ । आगामी चैतसम्म काठमाडौँ उपत्यकामा १७ करोड लिटर पानी दैनिकरुपमा वितरण गर्ने समितिको लक्ष्य छ तर वर्षा लागेसँगै फेरि चार महिना सुरुङ बन्द गर्नुपर्ने अवस्था रहेको कुँवरले बताए ।