काठमाडौं – कृषि मन्त्री एवं जनता समाजवादी पार्टीका नेता महेन्द्र राय यादवले आगामी ५ वर्षभित्र नेपाल कृषिमा आत्मनिर्भर बन्ने ठोकुवा गरेका छन् ।
मन्त्री यादवले कृषिमा आत्मनिर्भर बन्नका लागि बाँझो जमिनमा खेती गर्न प्रोत्साहन गर्ने, चक्लाबन्दी गरेर सामूहिक खेतीको विकास गर्ने, जैविक मल उत्पादन गर्ने, सिँचाइको विकास गर्ने लगायतका कार्यक्रम ल्याइने बताए ।
युवाहरुलाई विदेश जान रोकी बाँझो खेतमा कृषि गर्न प्रोत्साहित अनुदान दिने कार्यक्रम आउने पनि उनले बताए ।
मन्त्री यादवले भने, “अहिले हामी कुखुराको मासु र दूधमा आत्मनिर्भर छौं । १० हजार उच्च नश्लका गाई, भैसी ल्याउने हो भने दूग्ध निर्यात गर्न सक्छौं । अहिले किसानलाई सीधै पैसा दिने प्रावधान छैन । जसले उत्पादन गर्छ, उसैलाई अनुदान पुगोस् । अहिले वार्षिक एक अर्बको खुर्सानी बाहिरबाट आउँछ । के खुर्सानी रोप्न पनि अनुदान दिनुपर्छ रु” मलखाद, बीउबिजन, सिँचाइको समस्या चाँडै समाधान हुने उनले विश्वास व्यक्त गरे ।
अर्को प्रसंगमा उनले स्थानीय तहको आवश्यकता अनुसार गठबन्धन हुने पनि बताए । जसपा नेता यादवले भने, “अहिले हाम्रो पार्टी गठबन्धनमा छ । सकेसम्म तालमेल गरेर जाने हो । हामीले स्थानीय पार्टीलाई सबै अधिकार दिएका छौं ।”





प्रतिक्रिया